हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित

हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित बनेका छन् । हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, स्याउ र ओखरको फूल नलाग्ने,  रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्याहरू देखापर्छन् । यसका साथै पशुचौपायाका लागि घाँस उपलब्ध नहुनेलगायत समस्या हुने भएकाले किसान चिन्तित भएका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

गत वर्ष माघको पहिलो साता हिउँ परेको थियो । तर यो वर्ष माघ दोस्रो हप्ता भइसक्दा पनि हिउँ नपरेको मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ की कृषक अनिता खड्का रोकायाले बताइन् ।  यो वर्ष हिउँ नपर्दा स्याउ बारी सुख्खा भएको उनले सुनाइन्

अनिताका अनुसार हिउँ नपरेपछि यो वर्ष स्याउ खेती विस्तार गर्न समस्या हुने देखिएको छ । ‘हिउँ पर्‍यो भने स्याउको बोट सार्दा ९५ प्रतिशत सफल हुन्छ,’ उनले भनिन् । उनले गत वर्ष तीन सय स्याउको बोट सारेकी थिइन् । यो वर्ष उनले आठ सय बोट सार्ने योजना बनाएकी छन् तर हिउँ नपरेका कारणले समस्या भइरहेको उनले बताइन् ।

बिज्ञापन

‘बोट सार्नका लागि खाल्डो खन्दैछौँ,’ उनले भनिन्, ‘हिउँ परेपछि एकै पटक नपग्लेर एकदेखि साढे एक महिनासम्म बिस्तारै हिउँ पग्लन्छ । यसले स्याउको बिरुवामा सिँचाइ गर्नुपर्दैन । यो वर्ष हिउँ परेन भने सिँचाइ गर्न समस्या हुन्छ ।’

उनले हिउँ नपर्दा स्याउ खेतमा पानी कम भएर फूल झर्ने, स्याउका दाना राम्रो नलाग्ने र रोग, किराको सङ्क्रमण बढ्ने सुनाइन् । अनिताले तीन हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्दै आएकी छन् । उनले वार्षिक २ मेट्रिक टनसम्म स्याउ उत्पादन गर्छिन् ।

यता मनास्लु संरक्षण क्षेत्रका आयोजनाका प्रमुख सन्तोष शेरचनले पनि हिउँ नपर्दा हिमाली भेगको खेतीपाती, पशुपालनमा नकारात्मक असर परेको सुनाए । ‘यो आलु, स्याउ, ओखर लगाउने सिजन हो,’ उनले भने, ‘हिउँ नपर्दा सिँचाइका लागि समस्या हुन्छ । यसले उत्पादनदेखि बजारीकरणमा प्रत्यक्ष असर पर्छ ।’

हिउँ नपर्दा पानीको मुहान सुकेर बस्ती पनि सर्ने स्थिति भएको शेरचनले सुनाए । ‘विशेष गरेर अपर मुस्ताङका बस्तीहरू सरेका छन्,’ उनले भने, ‘कृषि, पर्यटन, वन्यजन्तु लगायत सबैतिर असर परेको छ ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु