नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतकप्रेरित नेपालले त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियासामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिज्ञापन

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रनको योगफल खडा गरेको हो ।

बिज्ञापन

नेपालबाट कुशलले अविजित ५५ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका कुशलले ३७ बलमा एक चौका र चार छक्का प्रहार गरे । सात ओभरमा ६४–४ को नाजुक अवस्थाबाट कुशलले आरिफ सेखसँग पाँचौं विकेटका लागि ८५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

१६।३ ओभरमा ज्याक ब्रासेलले जान फ्राइलिन्कबाट क्याच गराउनुअघि आसिफले २४ बलमा चार चौकासहित ३१ रन बनाए ।

बिज्ञापन

यसबाहेक, नेपाली टिमको खातामा गुल्सनकुमार झाले १६ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । अनिल साहले १७ बलमा तीन छक्कासहित २३ रन थपे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौकासहित १६ रन जोडेर आउट भए । कप्तान रोहित पौडेलले १० रन बनाए ।

नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सिकोन्गोले २८ रन खर्चिए । ज्याक ब्रासेलले दुई विकेट लिए । रुबेन ट्रम्पेलमेन, ज्यान निकोल लोफ्टी–इटोन र बर्नार्ड स्कल्जले एक–एक विकेट लिए ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी शृंखलामा नेपालको तेस्रो खेल हो । नेपालले यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो । यता, तेस्रो खेल खेलिरहेको नामिबियाले भने यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु