काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाले सल्यान जिल्लाको शारदा नगरपालिकालाई एक एम्बुलेन्स सहयोग स्वरूप प्रदान गरेको छ। मंगलबार तारकेश्वर नगरपालिकाका नगरप्रमुख श्री कृष्ण हरि महर्जनले एक औपचारिक समारोहका बीच एम्बुलेन्स शारदा नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको हो।
बिज्ञापन
तारकेश्वर र शारदा नगरपालिकाबीच २०८० सालमा भगिनी सम्बन्ध स्थापना भएको थियो। सोही समझदारीअन्तर्गत दुई नगरपालिकाबीच सहकार्य र समन्वयमा आधारित कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसै सन्दर्भमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको जनाइएको छ।
बिज्ञापन
शारदा नगरपालिकाका नगरप्रमुख श्री प्रकाश भण्डारीले उक्त सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “यो सहयोगले शारदा नगरपालिकाका नागरिकहरूलाई आपतकालीन अवस्थामा समयमै स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ। यस्तो किसिमको सम्बन्धले स्थानीय तहहरूबीच सहकार्यको नयाँ उदाहरण स्थापित गरेको छ।”
नगरप्रमुख महर्जनले दुर्गम क्षेत्रका नगरपालिकासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउँदै आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा समेत साथ र सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो।
बिज्ञापन
स्थानीय सरकारहरूबीचको सद्भाव, समन्वय र साझेदारीमा आधारित यो सहयोगले नेपालमा संघीयताको व्यवहारिक कार्यान्वयनमा समेत सकारात्मक सन्देश दिएको छ।