मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गतको नोबेल क्यान्सर अस्पतालले क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए।
बिज्ञापन
कार्यक्रममा नोबेल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. सुमित सिंहले क्यान्सरका कारण, प्रारम्भिक लक्षण, जोखिम कारक, रोकथामका उपाय तथा समयमै परीक्षण र उपचार गराउनुको महत्त्वबारे जानकारी दिएका थिए।
बिज्ञापन
उनले सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ जीवनशैली तथा अन्य जोखिमयुक्त बानीबाट टाढा रहन विद्यार्थीलाई आग्रह गर्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेका थिए। साथै, क्यान्सरबारे समाजमा रहेका भ्रम र गलत धारणालाई हटाउन सही जानकारी आवश्यक रहेको उनको भनाइ थियो।
डा. सिंहले क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान भए उपचार सफल हुने सम्भावना धेरै रहने उल्लेख गर्दै समयमै स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिए।






