काठमाडौं। भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले आधुनिक प्रविधिमार्फत बिना ठूलो चिरफार मेरुदण्ड (स्पाइन) सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको जनाएको छ। अत्याधुनिक ‘मिनिमली इनभेसिभ स्पाइन सर्जरी’ प्रविधिबाट उपचार गर्दा बिरामीको शरीरमा ठूलो चिरफार गर्न नपर्ने, कम रगत बग्ने, कम पीडा हुने र छोटो समयमै सामान्य जीवनमा फर्कन सकिने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार यो प्रविधि विशेषगरी ढाड दुख्ने, डिस्क स्लिप हुने, मेरुदण्डको नसामा चाप पर्ने, स्पाइनल स्टेनोसिस तथा अन्य जटिल मेरुदण्डसम्बन्धी समस्याको उपचारमा प्रभावकारी मानिन्छ। सानो चिरामार्फत विशेष उपकरण र क्यामेराको सहायताले गरिने शल्यक्रियाले संक्रमणको जोखिम पनि कम गर्ने चिकित्सकहरूको भनाइ छ।
केएमसी दुवाकोटमा अत्याधुनिक प्रविधिसहित विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत सेवा उपलब्ध गराइएकाले काठमाडौं उपत्यका तथा बाहिरका बिरामीले पनि सहज रूपमा उपचार पाउने अपेक्षा गरिएको छ। अस्पतालले आधुनिक स्वास्थ्य प्रविधिलाई विस्तार गर्दै गुणस्तरीय र सहज उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
बिना ठूलो चिरफार केएमसी दुवाकोटमा आधुनिक मेरुदण्ड शल्यक्रिया





