काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट पुनः एकपटक हेर्न नमिल्नेमा परेपछि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।
बिज्ञापन
यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले रिट हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश दिएको थियो। सोही आदेशअनुसार आजको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो।
बिज्ञापन
तर आज पनि उक्त मुद्दा ‘हेर्न नमिल्ने’ इजलासमा परेको ठहर गर्दै सुनुवाइ प्रक्रिया अघि बढ्न सकेन। कानुनी प्रावधानअनुसार, न्यायाधीशहरूको निकट सम्बन्ध भएका वकिलहरू संलग्न रहेका मुद्दाहरू उनीहरूले हेर्न नमिल्ने हुन्छ।
स्रोतका अनुसार, प्रधानन्यायाधीश राउतका निकट आफन्त लामिछानेको पक्षमा वकालतनामा रहेका छन् भने न्यायाधीश पाण्डेयका आफन्त पूर्व डीआईजी छविलाल जोशीको पक्षमा वकालतनामा रहेका छन्। यही कारणले इजलासले मुद्दा हेर्न नमिल्ने ठहर गर्दै पेसी सराएको हो।
बिज्ञापन
यसअघि पनि लामिछानेको रिट पटक–पटक ‘हेर्न नमिल्ने’ इजलासमा पर्ने क्रम दोहोरिएको छ। यसले सर्वोच्च अदालतको कार्यसूची व्यवस्थापनप्रति प्रश्न उठाउँदै गएको छ।
अब यो मुद्दा पुनः नयाँ इजलास तोकेर अगाडि बढाइनेछ।






