टोखा २५ करोड प्रकरण: सांसद खतिवडाको माग – ड्राइभर थुनिएका छन्, मालिक को हो ? को संलग्न छन् जानकारी गराइयोस्

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य नाइके अझै पक्राउ नपरेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारी मात्रै थुनेर सरकार जिम्मेवारीबाट उम्किन नसक्ने चेतावनी दिएका हुन्।

बिज्ञापन

सांसद खतिवडाले भने, “केही महिना पहिले सरकारले टोखाबाट २५ करोड बराबरको युरो र डलर बरामद गर्‍यो। तर अहिले एउटा ड्राइभर र व्यापारी मात्रै थुनिएको छ। त्यो रकमको धनी को हो? संरक्षण गर्ने को हो? संलग्न को को छन्? सदनलाई जानकारी गराइयोस्।”

बिज्ञापन

उनले यस्ता प्रकरणमा बारम्बार ‘ड्राइभर र लोडर’ मात्रै पक्रिने र मालिकसम्म नपुग्ने प्रवृत्तिको आलोचना गर्दै भने, “मूल दोषीसम्म पुगेर कारबाही होस्। अपराधी जोगिने र भरिया फस्ने चलन अन्त्य होस्।”

यसअघि राजस्व अनुसन्धान विभागले टोखा घटनामा संलग्न रहेको अभियोगमा कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ। उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(४५) र ९ बमोजिम मुद्दा चलाइएको छ।

बिज्ञापन

कुसाङ लामाले यसअघि पनि चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका थिए। सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनः कसूर गरेकाले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४४(२) अनुसार थप सजाय हुने कानुनी व्यवस्था छ।

अनुसन्धानका क्रममा लामाले चलाएको ना.७ ख १६५२ नम्बरको ट्रकबाट १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरिएको थियो। यि सबै रकम तथा प्रयोग भएको ट्रकलाई ‘जफत’ गर्न माग गर्दै मुद्दा दायर गरिएको छ।

तर सांसद खतिवडाको भनाइमा, यस्तो ठूलो परिमाणको विदेशी मुद्रा ओसारपसारमा संलग्न मुख्य व्यक्ति र संरक्षकहरू अझै निर्दोषझैँ बाहिर हिँडिरहेकोले सरकारको अनुसन्धानमाथि प्रश्न उठेको हो।

यस प्रकरणको साँचो दोषीको पहिचान र कारबाहीका लागि अब सदन र सरोकारवाला निकायहरूको दबाब बढ्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु