काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघीय फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्।
बिज्ञापन
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको पहलमा सम्पन्न सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएबापत डाइओङप्रति आभार प्रकट गर्दै हिमाल र वातावरणको संरक्षणमा विश्व समुदायको गम्भीर ध्यान आवश्यक रहेकोमा जोड दिए। उनले कतिपय धनी मुलुकहरू पेरिस सम्झौताबाट पछि हट्ने संकेत देखिनु दुःखद रहेको उल्लेख गर्दै सगरमाथा तथा समग्र हिमाली क्षेत्रको संरक्षण नेपालमात्र नभई सम्पूर्ण मानव जातिको हितमा रहेको बताए।
बिज्ञापन
कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्त्वपूर्ण सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा नेपाललाई बधाई दिँदै आगामी दिनमा लस एण्ड ड्यामेज फण्डमार्फत जलवायु संकटको सामना गरिरहेका नेपालजस्ता मुलुकहरूलाई प्राथमिकतामा राखिने प्रतिवद्धता व्यक्त गरे।
उक्त अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायत अधिकारीहरूको सहभागिता रहेको थियो।
बिज्ञापन
संयुक्त राष्ट्रसंघीय लस एण्ड ड्यामेज फण्ड जलवायु परिवर्तनबाट सर्वाधिक प्रभावित विकासोन्मुख तथा जोखिममा रहेका मुलुकहरूको सहयोगका लागि कोप–२७ (COP27) को निर्णयअनुसार स्थापना गरिएको हो। फण्डको निर्णय बोर्डमा पेरिस सम्झौताका हस्ताक्षरकर्ता २६ मुलुक, विकसित राष्ट्रका १२ र विकासोन्मुख देशका १४ प्रतिनिधिहरू छन्। नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल बोर्डका आमन्त्रित सदस्यको रूपमा सहभागी छन्।






