प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गत काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको छ। भेटका क्रममा नेपाल–रुस सम्बन्धका विविध पक्षबारे व्यापक छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिज्ञापन

भेटमा काल्मिकियाका प्रमुख कासिकोभले आउँदो सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा प्रदान गरेका थिए। उक्त सम्मेलनले द्विपक्षीय सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले सो अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा सन्देश पनि प्रमुख कासिकोभमार्फत पठाएका छन्। साथै, नेपाली नागरिकलाई रुसी सेनामा बिना औपचारिक सैन्य सम्झौता भर्ना नगर्न आग्रह गर्दै उक्त सन्देश पनि राष्ट्रपति पुटिनसम्म पुर्‍याइदिन अनुरोध गरेका थिए।

जवाफमा प्रमुख कासिकोभले प्रधानमन्त्रीको सन्देश आदरपूर्वक राष्ट्रपति पुटिनसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाउँदै अब नेपालीलाई रुसी सेनामा भर्ना नगरिने विश्वाससमेत दिलाएका छन्।

बिज्ञापन

भेटवार्तामा नेपालस्थित रुसी राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु