काठमाडौं — वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीन सदस्यीय विशेषज्ञ कार्यदल गठन गरेका छन्। वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायको संयोजकत्वमा गठन गरिएको कार्यदललाई अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत-साधन र सेवा प्रणालीको समुचित प्रयोगमा केन्द्रित रहेर सुझाव दिन कार्यादेश दिइएको छ।
बिज्ञापन
कार्यदलमा विशेषज्ञ सदस्यका रूपमा दीपकमोहन भट्टराई र डा. सुरेश तिवारी सहभागी छन्। कार्यदलले फार्मेसी, रेडियोलोजी, प्याथोलोजी, अर्थोपेडिक्स लगायतका सेवा र उपकरणहरूको अवस्था मूल्यांकन गरी सुधारका उपाय पेश गर्नुपर्नेछ।
बिज्ञापन
साथै, अस्पतालमा देखिएको आर्थिक र प्रशासनिक जटिलता समाधान गर्न सुझाव दिनुका साथै डिजिटलाइजेशन प्रक्रियामा देखा परेका चुनौतीहरू पहिचान गरी दीर्घकालीन योजना प्रस्ताव गर्नु पनि कार्यदलको जिम्मेवारीमा परेको छ।
मन्त्री पौडेलले अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका उपकरणको मर्मतका लागि महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गरेका थिए। यस कदमपछि थुप्रै उपकरण न्यून खर्चमा मर्मत भई पुनः प्रयोगमा आइसकेका छन्।
बिज्ञापन
उनको कार्यकालमा वीर अस्पतालमा सेवा सुधारका विभिन्न पहलहरू गरिएको छ। हाल दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन हुनुका साथै सीटी स्क्यान, एमआरआई जस्ता सेवाहरू बढ्दो क्षमताका साथ सञ्चालनमा छन्। मन्त्री पौडेलको नौ बुँदे सुधार सुझाव अनुसार अनलाइन टिकट प्रणाली सुरु भइसकेको छ, जसलाई अझ प्रभावकारी बनाउने दिशामा काम भइरहेको छ।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले कार्यदलले पेश गर्ने सुझावलाई यथासम्भव कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन्।