द्वन्द्व र हिंसाको अन्त्य बुद्ध दर्शनबाट मात्रै सम्भव छ : प्रधानमन्त्री ओली

लुम्बिनी – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा फैलिँदो द्वन्द्व र हिंसाको अन्त्य बुद्धको दर्शन र शिक्षाबाट मात्र सम्भव रहेको बताएका छन्।

बिज्ञापन

लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार र युद्धले शान्ति सम्भव नहुने र त्यसको दीर्घकालीन समाधान बुद्धका सिद्धान्तबाट खोज्नुपर्नेमा जोड दिए।

बिज्ञापन

“आज विश्वभर अशान्ति बढिरहेको बेला बुद्ध दर्शनको उपादेयता झन् बढी महसुस गरिएको छ,” उनले भने, “भारत र पाकिस्तान पनि हालै युद्धको नजिक पुगेका थिए, यद्यपि दबाबपछि पछि हटे। यस्ता समस्या संसारभर छन्। लुम्बिनीबाट हामीले विश्व शान्तिको कामना गरेका छौँ।”

बिज्ञापन

प्रधानमन्त्री ओलीले बुद्धको शिक्षा, शान्ति, करुणा र मैत्री भावनालाई विश्वभर फैलाउन अझै ठूलो प्रयास आवश्यक रहेको उल्लेख गरे। “लुम्बिनी पवित्र स्थल मात्र होइन, बुद्ध दर्शनको उत्पत्तिको थलो हो। यही ठाउँबाट विश्वलाई शान्तिको सन्देश फैलनुपर्छ,” उनले जोड दिए।

बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीको लुम्बिनी आगमनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्री पाण्डे, सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री परिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा विदेशी अतिथिहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ, जुन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको दिनका रूपमा श्रद्धापूर्वक मनाइन्छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु