काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबी र पछौटेपनतिर धकेल्ने मुख्य कारण पूर्वराजतन्त्र भएको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
बिज्ञापन
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै अचेल पनि केही व्यक्तिहरू ‘हामीबिनाको देश चल्दैन’ भन्ने शैलीमा प्रस्तुत हुन थालेको उल्लेख गरे। “देशलाई आजको अवस्थामा पुर्याउने पनि उनीहरू नै हुन्,” प्रधानमन्त्री ओलीले भने, “अहिले फेरि साथ देऊ भनेर लाजै नमानी मागिरहेका छन्।”
बिज्ञापन
उनका अनुसार पछिल्ला ३० वर्षमा मुलुकमा उल्लेखनीय विकास भएको छ र आँकडाहरूले नै त्यसको पुष्टि गर्छन्। उनले पूर्वकालमा राज्यस्रोतको दुरुपयोग गर्दै देशलाई जङ्गलजस्तो बनाइएको र विकासतर्फ ध्यान नदिइएको आरोप लगाए।
“हामीले देश बनाउने हो, विकसित बनाउने हो, यो देश स्वच्छ, पवित्र र बस्न लायक छ,” प्रधानमन्त्री ओलीले भने, “यस्तो देशमा फोक्सोको व्यापारी कसरी आयो? यो देश त देवभूमि हो, अक्सिजनले भरिएको।”
बिज्ञापन
प्रधानमन्त्री ओलीले अहिलेको पुस्ताले नै देशलाई सही दिशा दिने अवसर पाएको उल्लेख गर्दै उपचार गर्ने, सुधार गर्ने र समृद्ध बनाउने जिम्मेवारी यही पुस्तामाथि रहेको बताए।






