काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने स्पष्ट पारेका छन्।
बिज्ञापन
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताको लामो संघर्षपछि प्राप्त गणतन्त्रलाई उल्ट्याउने कोसिस व्यर्थ हुने बताए। प्रधानमन्त्री ओलीले स्वतन्त्रता भन्दा रैती रहन चाहने सोच अझै पनि केही व्यक्तिमा रहेको टिप्पणी गर्दै त्यसप्रकारको मानसिकता बोकेकाहरु व्यवस्थाको विरोधमा नकारात्मकता मात्र फैलाउने आरोप लगाए।
बिज्ञापन
“राति चारवटा स्याल कराउँदा वनै भाँच्चिन्छ भन्ने होइन,” प्रधानमन्त्री ओलीले भने, “अब राजा हुने सपना देख्नेहरुले त्यो सपना सपना मै सिमित रहनेछ। यस्ता प्रवृत्तिविरुद्ध सशक्त सांस्कृतिक अभियान चलाउनु आवश्यक छ।”
प्रधानमन्त्री ओलीले कलाकार सुरक्षा पन्तको फिल्ममाथि केही समूहले बहिष्कारको कुरा उठाएको प्रसङ्ग उल्लेख गर्दै देश र जनताको हितमा बनेका राम्रा फिल्म र नाटक हेर्ने दर्शकको कुनै कमी नहुने धारणा व्यक्त गरे। उनले कलाकार र सर्जकहरुलाई सकारात्मक सन्देश दिने सिर्जनात्मक अभियानमा लाग्न आग्रह गरे।






