सल्यान — दोस्रो शारदा मेयर टी–२० कप २०८२ को उपाधि जितेका बागचौर नगरपालिकाका क्रिकेट खेलाडीहरूलाई बागचौर नगरपालिकाले विशेष सम्मान गरेको छ। खेलाडीहरू, टिम कोच र टिम म्यानेजरलाई आज एक कार्यक्रमका बीच प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो।
बिज्ञापन
खेल वैशाख ६ देखि १४ गतेसम्म सल्यानको खलंगामा सम्पन्न भएको थियो, जहाँ बागचौर नगरपालिकाले कुमाख गाउँपालिकालाई पराजित गर्दै उपाधि हात पारेको थियो। लगातार दुई वर्ष उपाधि जित्दै बागचौरले आफ्नो अपराजित यात्रालाई ९ खेलसम्म निरन्तरता दिएको छ।
बिज्ञापन
नगर प्रमुखको प्रतिबद्धता: जनही ५ हजार पुरस्कार
सम्मान कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै यो जित केवल खेलाडीहरूको नभई सम्पूर्ण बागचौरबासीको गौरव भएको बताए। उनले टुर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार स्वरूप केही दिनमै प्रदान गरिने प्रतिबद्धता पनि जनाए।
बिज्ञापन
कार्यक्रममा उपप्रमुख सुम्निमा डि.सी. वली, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति थियो।
लगातार उपाधि रक्षा गर्दै बागचौर अपराजित
गत वर्ष शारदा नगरपालिकालाई हराउँदै उपाधि जितेको बागचौरले यस वर्ष कुमाख गाउँपालिकालाई पराजित गर्दै लगातार दोस्रो वर्ष विजेता बन्न सफल भएको हो। बागचौर नगरपालिकाले लगातार ९ खेलमा विजय हात पार्दै आफ्नो अपराजित कीर्तिमान कायम राखेको छ।






