काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको सञ्चालनमा कुनै पनि समस्या नरहेको स्पष्ट पार्नु भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा आज सुरक्षा बिटमा खटिनु भएका पत्रकारहरूसँगको भेटमा उहाँले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिसम्बन्धी विषयलाई लिएर सत्ता गठबन्धनमा आशंका नगर्न आग्रह गर्नुभयो।
बिज्ञापन
उहाँले भन्नुभयो, “सरकारमा कुनै समस्या छैन। गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीका एक सदस्यले राजीनामा दिनुभएको हो। त्यसलाई फेरि पूर्णता दिएर अघि बढ्छौँ, मन्त्रिपरिषद्को आगामी बैठकमा छलफल गरेर प्रक्रिया अघि बढाउनेछौँ।”
बिज्ञापन
गृहमन्त्री लेखकज्यूले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। उहाँले कानुनी र नीतिगत सुधारलाई पनि सँगसँगै अघि बढाइरहनुभएको जानकारी दिनुभयो।
उहाँले सुशासनको आधार नीतिगत सुधार भएको उल्लेख गर्दै, “नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न सकिन्न,” भन्नुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संसद्को समितिमा छलफलका लागि पठाइसकिएको जानकारी दिँदै, उहाँले संस्था दर्ता, समाज कल्याण, र मन्त्रालय अन्तर्गत जग्गा प्राप्तिसम्बन्धी कानुनको संशोधन प्रक्रिया पनि अघि बढेको उल्लेख गर्नुभयो।
बिज्ञापन
गृहमन्त्री लेखकज्यूका अनुसार हज तथा नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पुगेको छ भने कारागारसम्बन्धी नियमावली आजै मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको हो। अन्य महत्त्वपूर्ण कानुन पनि चाँडै संसद्मा प्रस्तुत गरिने बताउनुभयो।
अध्यागमन प्रशासन सुधारका लागि छुट्टै मापदण्ड बनाउन निर्देशन दिइएको जानकारी दिँदै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको बताउनुभयो। मातहतका निकायबाट काम गर्दा कमजोरी हुन सक्ने स्वीकार गर्दै उहाँले सुधारको प्रक्रियामा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो।
लोकतान्त्रिक प्रणालीमा आलोचना स्वाभाविक भएको उल्लेख गर्दै मन्त्री लेखकज्यूले सञ्चारकर्मीहरूसँग संवादमार्फत कमीकमजोरी औँल्याएर सहयोग गर्न अनुरोध गर्नुभयो।
गत चैत १५ गते राजधानीको तीनकुनेमा पूर्वराजा समर्थक समूहले आयोजना गरेको प्रदर्शनको छानबिन भइरहेको जानकारी दिँदै उहाँले सो घटनामा प्रयोग भएका सुरक्षाविधिहरूको पनि प्रहरीमार्फत आन्तरिक छानबिन भइरहेको बताउनुभयो। “घटनाको निष्पक्ष, व्यावसायिक र गहिरो रूपमा अनुसन्धान हुँदैछ,” उहाँले स्पष्ट पार्नुभयो। सो प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो।
यसैबीच, मन्त्री लेखकज्यूले भारतको कश्मीर क्षेत्रमा भएको आक्रमणमा रुपन्देहीका नेपाली युवा सन्दिप न्यौपानेको निधन भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि जानकारी दिनुभयो। पारिवारिक भ्रमणमा रहेका बेला आक्रमणमा परेर उहाँको ज्यान गएको र घटनाको विस्तृत विवरण बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकिएको जानकारी दिइयो।
अन्त्यमा, आन्दोलनरत शिक्षकका मागबारे सरकार संवेदनशील रहेको भन्दै गृहमन्त्री लेखकज्यूले शिक्षासम्बन्धी विधेयक चाँडै पारित गर्ने र शिक्षकहरूसँग संवादमार्फत समाधान खोज्ने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो।






