सल्यान । सल्यानको शारदा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष बिष्टको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बिज्ञापन
प्रहरीका अनुसार बिष्ट पाँच जनाको समूहसहित शंखमूलस्थित शंखपार्क नजिकैको शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका थिए। माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर नदीमा डुबेका बिष्टलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउने प्रयास गरिए पनि बाटोमै उहाँको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी केशर कुमार न्यौपानेले जानकारी दिए ।
बिज्ञापन
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ। पोष्टमार्टम नहुँदासम्म मृत्युको यकिन कारण पुष्टि गर्न नसकिने प्रहरीको भनाइ छ।
घटनापछि मृतक बिष्टसँगै माछा मार्न गएका चार जनालाई इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ। साथै, घटनाको थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।






