दाङ, गाउँपालिकाले शिक्षक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै शिक्षा ऐन तत्काल ल्याउन सरकारसँग आग्रह गरेको छ। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएको अन्योल हटाउन कानुनी व्यवस्था तुरुन्तै गर्नुपर्ने आवश्यकता औंल्याएको हो।
बिज्ञापन
नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको केन्द्रीय आन्दोलनप्रति संवेदनशीलता जनाउँदै गाउँपालिकाले आन्दोलनको जरोमा शिक्षासम्बन्धी ऐन नबन्नु नै प्रमुख कारण भएको स्पष्ट पारेको छ। संविधान जारी भएको ८ वर्ष भइसक्दा पनि शिक्षा ऐन नआउनुले समग्र शिक्षक समुदाय अन्योलमा परेको र त्यही अन्योलले आन्दोलन जन्माएको गाउँपालिकाको ठम्याइ छ।
बिज्ञापन
विज्ञप्तिमा भनिएको छ, “शिक्षकहरूका न्यायोचित मागप्रति गाउँपालिकाको ऐक्यबद्धता छ। शिक्षकलाई दोष दिएर समस्या हल हुँदैन, बरु शिक्षा ऐन निर्माण प्रक्रिया छिटो टुंग्याएर संघीयताको भावना अनुसारको शिक्षाको ढोका खोल्न आवश्यक छ।”
गाउँपालिकाले शिक्षण कार्य नरोकिनु पर्ने पनि उल्लेख गरेको छ। तर, आन्दोलनको कारण शिक्षण अवरुद्ध भएकोमा चिन्ता व्यक्त गर्दै सबै पक्ष गम्भीर हुनुपर्ने आग्रह गरिएको छ। “शिक्षकहरूले शिक्षणसँगै आन्दोलन गर्न बाध्य हुनु, र राज्यले ऐन नल्याउनु दुबै दुःखद पक्ष हुन्,” विज्ञप्तिमा भनिएको छ।
बिज्ञापन
शान्तिनगर गाउँपालिकाले सबैलाई संयमता अपनाउँदै विद्यार्थीको पठनपाठनमा असर नपर्ने गरी समाधान खोज्न जोड दिएको छ।

















