काठमाडौं । कर्णाली युथ फाउन्डेसनको आयोजनामा “कर्णाली सम्मान तथा सांस्कृतिक कार्यक्रम” काठमाडौंको भृकुटीमण्डपस्थित हलमा भव्य रूपमा सम्पन्न भएको छ।
बिज्ञापन
नयाँ वर्ष २०८२ को स्वागतसँगै आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रममा समाजसेवा, शिक्षा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान, र कर्णाली क्षेत्रको सांस्कृतिक विविधताको झल्को दिने प्रस्तुतीहरू समावेश गरिएका थिए।
बिज्ञापन
कार्यक्रमको अध्यक्षता कर्णाली युथ फाउन्डेसनका अध्यक्ष मोहन ओलीले गर्नुभएको थियो भने संघीय सरकारका मन्त्री ऐन बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा फाउन्डेसनका सल्लाहकार तथा प्रेरणादायी युवा नेता भुपेन्द्रजंग शाही, नेपाल सरकारका विभिन्न मन्त्रालयहरूका सचिव, सह–सचिव, उच्च अधिकारीहरू, समाजसेवी, पत्रकार, कलाकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिज्ञापन
कर्णाली सम्मान २०८२ अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले कर्णालीका युवाहरूले मुलुकको समृद्धिमा खेल्ने भूमिकाको चर्चा गर्दै, फाउन्डेसनको यो प्रयास प्रशंसनीय रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा कर्णालीको मौलिक संस्कृति झल्काउने लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, कविता वाचन, तथा युवाको सशक्त आवाज उठाउने सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो।
संघीय मन्त्री ऐन बहादुर शाहीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “कर्णालीका युवाहरूको जागरूकता, सोच र सिर्जनशीलता हामी सबैका लागि गर्वको विषय हो। यस्ता कार्यक्रमले कर्णालीको सांस्कृतिक पहिचान जोगाउन र विकासका लागि युवालाई अग्रपङ्तिमा ल्याउन सहयोग गर्छ।”
कार्यक्रमको समापन गर्दै अध्यक्ष मोहन ओलीले नयाँ वर्ष २०८२ को शुभकामना दिंदै सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामी युवाहरूको उद्देश्य कर्णालीको पहिचानलाई देश–विदेशसम्म पुर्याउनु र युवाको नेतृत्व क्षमतालाई अझ सशक्त बनाउनु हो।”
कार्यक्रममा कर्णालीका १० वटै जिल्लाबाट आएका युवाहरू, कर्मचारी, कलाकार, शुभेच्छुक र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।






