काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालका घटनालाई एकतर्फी ढंगले चित्रण गर्दै आफूमाथि लगाइएका आरोपप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ।
बिज्ञापन
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युद्धका घटनालाई इतिहासबोधको साटो पूर्वाग्रहसहित व्याख्या गर्दै आफूलाई “१७ हजारको हत्यारा” भनिने गरिएकोमा आपत्ति जनाउनुभएको हो। उहाँले द्वन्द्वकालका सबै घटनाहरू युद्धको नियमअनुसार भएको बताउँदै, आफूमाथि व्यक्तिविशेषका रूपमा लगाइने आरोप अन्यायपूर्ण भएको स्पष्ट पार्नुभयो।
बिज्ञापन
“हत्याको त कुरै छोड्नुस्, मैले आजसम्म कसैलाई पिटेको पनि छैन,” भन्दै उहाँले व्यक्तिगत हिसाबले आफूमाथि लगाइएका हत्या आरोपहरू तथ्यविहीन रहेको प्रष्ट पार्नुभयो। युद्धको नेतृत्व आफूले गरेको र शान्तिपछि सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउँदै, उहाँले शान्ति प्रक्रियाको साझा समझदारीलाई बिर्सेर एकपक्षीय आरोप लगाइनु गलत भएको तर्क गर्नुभयो।
उहाँले भन्नुभयो, “एकथरीले १७ हजारको हत्यारा भनेर लगातार बोलिरहँदा पार्टीका नेताहरू मौन बस्नु दुःखद हो। त्यो युद्धको अवस्था थियो। राज्य पक्षले कति मार्यो, विद्रोहीले कति गरे भन्ने अनुसन्धान गर्न सकिन्छ। तर अध्ययन नै नगरी आरोप लगाउनु अन्याय हो।”
बिज्ञापन
अध्यक्ष दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमार्फत द्वन्द्व अन्त्य गरी मुलुकले शान्तिपूर्ण राजनीतिक यात्राको आधार तयार गरेको स्मरण गराउँदै सो प्रक्रियामा संलग्न सबै पक्षले अहिले सत्य बोल्न र बोल्न सक्ने साहस गर्नुपर्नेमा जोड दिनुभयो।
“सत्यलाई सत्य भनेर राख्ने हिम्मत नगर्ने हो भने समाज रूपान्तरण र स्थायित्वतर्फ अघि बढ्न सक्दैन,” उहाँको तर्क थियो।
त्यस्तै, उहाँले पछिल्लो समय “सबै नेता उस्तै हुन्”, “लोकतन्त्र नेतातन्त्रमा फेरिएको छ” भन्ने भाष्य निर्माण गरी जनतामा वितृष्णा फैलाउने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले यस्तो प्रवृत्तिले निरंकुश र तानाशाही शक्तिहरूलाई बल पुगिरहेको उल्लेख गर्दै त्यसविरुद्ध सचेत हुन आग्रह गर्नुभयो।
कार्यक्रममा अध्यक्ष दाहालले द्वन्द्वकालमा यौनजन्य हिंसाबाट प्रभावित महिलाहरूको विषयमा समेत खुलेर चर्चा गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले राज्य पक्ष र विद्रोही दुवैले जिम्मेवारी बहन गर्नुपर्ने बताउँदै, पीडितहरूलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम लिन आवश्यक रहेको धारणा राख्नुभयो।
“कसले कति गल्ती गर्यो भन्ने कुरा डराएर लुकाउनु हुँदैन,” भन्दै उहाँले transitional justice प्रक्रिया निष्पक्ष, न्यायपूर्ण र सत्यको आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।






