बुटवल । एमाले का अध्यक्ष एवं माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आउँदो वैशाख ११ गते काठमाडौंमा आयोजित हुन लागेको युवा महोत्सवमा शक्ति प्रदर्शन गरिने जानकारी दिनुभएको छ। एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा उहाँले सो कुरा सार्वजनिक रूपमा बताउनुभएको हो।
बिज्ञापन
प्रधानमन्त्रीज्यूले लोकतन्त्र दिवसको अवसर पारेर एमाले निकट युवा संघ नेपालले आयोजना गर्न लागेको युवा महोत्सवमा देशभरका युवाहरूलाई सहभागी हुन हार्दिक आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, “म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सहभागी हुन आह्वान गर्दछु। त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीहरूले आफ्नै आँखाले हेरेर, आफ्नै कानले सुनेर बुझून्—युवा शक्ति के हो र एमालेको शक्ति कस्तो हो।”
बिज्ञापन
उहाँका अनुसार सो महोत्सव कुनै विचार गोष्ठी वा सम्मेलन मात्र नभई, युवाहरूको उत्साह, संकल्प र संगठनात्मक एकताको प्रतीक ‘सम्मिलन’ हुनेछ। राजावादी गतिविधिहरूप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “केही तत्वहरूले युवालाई एक हजार रुपैयाँ गोजीमा हालेर ढुंगा हान्न लगाएर राजतन्त्र फर्काउने प्रयास गरेका छन्, तर यस्तो बाटोबाट राजतन्त्र फर्कदैन।”
प्रधानमन्त्रीज्यूले हाल केही व्यक्तिहरूले नक्कली सामाजिक सञ्जाल आईडी र कृत्रिम बुद्धिमत्ताको (एआई) प्रयोग गरी एमाले र पार्टी नेतृत्वविरुद्ध गलत प्रचार गरिरहेको उल्लेख गर्नुभयो। उहाँले यसप्रति पार्टी कार्यकर्ताहरूले प्रतिवाद गर्न नसकेकोप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो। “नक्कली आईडी र एआईको प्रयोग गरेर विरोध र भ्रम फैलाउने काम भइरहेका छन्,” उहाँले भन्नुभयो, “तर हामी आफैं आफ्ना प्रचारक हौं। अरूको भर नपरी हामी आफैं सत्यको पक्षमा दृढ भएर उभिनुपर्छ।”
बिज्ञापन
साथै, प्रधानमन्त्रीज्यूले सुकुम्बासी समस्या समाधानका लागि ल्याइएको अध्यादेश केही तत्वहरूले अवरोध गरेकाले तत्कालका लागि रोकिएको जानकारी दिनुभयो। उहाँले आगामी संसद अधिवेशनबाट उक्त अध्यादेश पारित गराई सुकुम्बासी, मुक्त कमलरी, गुठी, विद्यालय, संघसंस्था लगायतका लुटिएका जग्गाहरू फिर्ता गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“पास गर्न सकिने अवस्था हुँदाहुँदै पनि केहीले जबर्जस्ती गरेर अध्यादेश रोकियो,” उहाँले भन्नुभयो, “तर हामी आगामी अधिवेशनबाट सर्वसम्मतिमा पास गर्नेछौं।”
उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीज्यूको सम्बोधन उत्साहजनक मात्र नभई पार्टी र देशको वर्तमान राजनीतिक सन्दर्भमा महत्त्वपूर्ण सन्देश पनि समेटिएको थियो।






