काठमाडौं – ‘अमेरिका पुगेर राम्रै कमाइ हुन्छ, परिवारको भविष्य उज्ज्वल हुन्छ’ भन्ने सपना बोकेर हजारौँ नेपालीहरूले अवैध बाटो रोजिरहेका छन्। तर वास्तविकता निकै दर्दनाक छ। लाखौँ ऋण गरेर, अनेकौं जोखिम मोल्दै अमेरिका पुग्ने क्रममा कतिपय पक्राउ परेर नेपाल फर्काइन्छन्, भने कोही अमेरिकामा काम नपाएर थुनिने वा डिपोर्ट हुने अवस्थामा पुगेका छन्।
बिज्ञापन
रुकुमको बाफीकोट झुलाका सीताराम केसी आजभन्दा ५-६ वर्ष अघि अमेरिका जाने सपना बोकेर घरबाट निस्किए। उनले दलाललाई करिब ५०-६० लाख रुपैयाँ बुझाए। अवैध रूपमा दक्षिण अमेरिकी मुलुक हुँदै जंगल, नदी, मरुभूमि पार गरेर करिब तीन महिनापछि अमेरिका पुगे। तर, अमेरिका छिर्नासाथ प्रहरीद्वारा पक्राउ परे। उनी मात्र होइन, उनका साथमा रहेका अन्य नेपालीहरू पनि पक्राउ परे। केही समय हिरासतमा बसेपछि उनलाई नेपाल फर्काइयो। यस क्रममा उनले तिर्नुपर्ने ऋण डुब्यो, परिवार आर्थिक सङ्कटमा पर्यो।
बिज्ञापन
उनको परिवारको अमेरिका पुग्ने सपना त्यहीं टुंगिएन। सीताराम नेपाल फर्किए पनि, केही समयपछि उनले आफ्ना भाइलाई फेरि उस्तै अवैध बाटोबाट अमेरिका पठाए। उनका भाइ अमेरिका पुगे, तर अहिले वर्क पर्मिट नपाउनेहरूमाथि कडाइ बढेपछि उनी कोठामै थुनिएर बस्न बाध्य छन्। “मेरो परिवारको कुल ऋण अहिले १ करोडभन्दा माथि पुगेको छ। न म अमेरिका बस्न सकेँ, न भाइले काम गर्न पाए। अब के गर्ने केही थाहा छैन,” सीतारामले भने।
अवैध रूपमा अमेरिका पुग्नेहरूको मुख्य मार्ग दक्षिण अमेरिका हुँदै मेक्सिको नाका पार गर्ने हो। नेपालीहरूलाई यो बाटो अपनाउन उक्साउने केही ठग गिरोहहरू नेपालमै सक्रिय छन्। उनीहरू नेपाली युवाहरूलाई ‘अमेरिका सजिलै पुगिन्छ, राम्रो कमाइ हुन्छ’ भनेर लोभ्याउँछन्। ५० लाखदेखि ८० लाखसम्म असुल्छन्। प्रारम्भिक भिसा दिलाएर दक्षिण अमेरिकी मुलुक (ब्राजिल, इक्वेडर, पेरु) पठाउँछन्। त्यसपछि जंगल, खोला, मरुभूमि हुँदै मेक्सिको पु¥याइन्छ, जहाँबाट अमेरिका छिर्न खोज्दा धेरै पक्राउ पर्छन्। कतिपयले बाटोमै ज्यान गुमाउँछन्।
बिज्ञापन
अहिले अमेरिकी सरकारले वर्क पर्मिट नहुनेहरूलाई पक्राउ गरी डिपोर्ट गर्ने नीति कडा बनाएको छ। सयौँ नेपालीहरू काम नपाएर कोठामै थुनिएका छन्। कतिपय बिना काम, बिना आय अमेरिकामा संघर्ष गरिरहेका छन्। केही पक्राउ परेर नेपाल फर्किइरहेका छन्।
सरकारले नेपाली युवाहरूलाई यथार्थ जानकारी दिनुपर्ने, अमेरिका पुग्ने अवैध बाटो कति खतरनाक छ भन्नेबारे चेतनामूलक अभियान चलाउनुपर्ने, दलालहरूको ठगी रोक्न कडा कारबाही गर्नुपर्ने र देशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यक छ। अमेरिका पुग्ने सपना पूरा गर्ने नाममा हजारौँ नेपालीहरू अहिले ऋणमा डुबेका, डिपोर्ट भएका, वा दुःख झेलिरहेका छन्। यो समस्या समाधानका लागि सरकार, समाज र मिडियाले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ।






