काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको मूल भावना अभिव्यक्ति स्वतन्त्रतामा आधारित रहेको बताएका छन्। उनले पूर्वराजासहित सबै नागरिकलाई आफ्ना विचार राख्न पाउने अधिकार सुनिश्चित भएको प्रस्ट पारे।
बिज्ञापन
थापाले शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भने, गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाएका छन्। विगतमा पूर्वराजाको शासनकालमा हामीले बोलेकै भरमा राष्ट्रद्रोहको मुद्दा लगाएर जेल हालिएको थियो। तर, अहिले पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जाँदैनौँ।
बिज्ञापन
उनले लोकतान्त्रिक व्यवस्थामा सबै नागरिक स्वतन्त्र रूपमा आफ्ना विचार व्यक्त गर्न सक्ने भए पनि कानूनी दायराभन्दा बाहिर गएर कुनै पनि गतिविधि गर्न नहुने बताए। उनले विगतमा अभिव्यक्ति स्वतन्त्रतामाथि कठोर प्रतिबन्ध लगाइएको उल्लेख गर्दै गणतन्त्रमा सबैका विचारलाई सम्मान गरिनु पर्ने धारणा राखे।
थापाले वर्तमान अवस्थामा सरकारका नीतिहरूप्रति असहमति राख्न पाइने तर हिंसात्मक वा असंवैधानिक गतिविधिहरूलाई लोकतन्त्रले समर्थन नगर्ने स्पष्ट पारे। उनले नागरिक स्वतन्त्रताको रक्षा गर्दै लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।






