कसरी लेखुँ नयाँ बर्षको शुभकामना !

 

बिज्ञापन

संग्रह
-डिल्ली राम अम्माई, बेल्जियम

बिज्ञापन

शुभकामनाले वाल रंगिएका छन्
कसैले प्रगतिका आशामा
कसैले उज्यालो र समृद्धिको बाँकी उपहार
र कसैले सद्भावको राग अलाप्दै
आफ्ना साथी र शुभचिन्तकलाई
बाँडी रहेछन कठै
नयाँ बर्षको शुभकामना !

तपाईंको घरमा शान्ति छाओस्
तपाईंको परिवारको मिलाप नटुटोस्
तपाईंलाई कहिल्यै रिस नउठोस्
नयाँ वर्ष फलोस फुलोस !!
यो सब त ठिकै छ तर
डाँडा माथिकी ति भाउजुको
पाखो बारी बेचेर अरब पठाएको छोरो
हिजै मात्र बाकसमा फर्काइयो,
अहिले भोकै छन् उसका दुइ छोरीहरु
स्कुलका कापी किताब किन्न नसकेर
पोहरदेखि परियार दाइकी छोरीले
पढ्दै गरेको स्कुल छोडिन्,
मुसुरे दाइको छोरो
निमोनियाले थला परेर
पैसाको अभावमा अस्पताल देख्न पाएन ।

बिज्ञापन

डोल्पाको मुनाले
सुत्केरी हुँदाको पीडाले
२३ बर्षको कलिलो उमेरमा
कहाली लाग्दो मृत्युवरण गरिन
साथी कसरी लेखुँ तिमीलाई
नयाँ बर्षको हार्दिक शुभकामना !

सुन्दैछु राजधानीमा रेलका कुरा
अनि महासागरमा पानीजहाज
र राजधानीतिर समृद्धिका कुरा,
जनसेवकका सुविधाका कुरा
सबै कुराहरु सबैतिर हुँदैछन् अहिले,
तर मेरो घर माथिकी ति भाउजु
उनका दुई छोरीको रोटी
दलित बस्तीका टुहुरा
मुसुरे दाईको पीडाको कुरो
कसैको मुखबाट किन सुनिएन् ?

उफ,
सागरको जहाजभन्दा
मुना बैनीको जीवनको कुरा
अनि भोकाको रोटीको कुरा
बिमारीको अस्पतालको कुरा,
कहिले हुने होला मेरो भूगोलभित्र
रक्तमुछेल बैनीहरुलाई
ती भोका बस्तीका
सुकेका ओठहरुलाई
ती सुक्न लागेका मुनाहरुलाई
अगाडि बाकसमा छोराको लास राखेर
मुर्छित बनेकी भाउजुलाई
के भनेर शुभकामना दिनु मैले !

मेरो बस्तीमा उज्यालो नआएसम्म
गरिब बस्तीले जाउलो नपाएसम्म
मेरा सन्ततीहरुले
बेचिने र किनिने प्रथा नभत्काएसम्म
प्रवासबाट सन्तान मुलुक फर्कने
आश्वासनपत्र आमा बुबाले नपाएसम्म
छोरी जलेको खरानी
अबको बर्षाले नबगाए सम्म
छाउगोठमा आगो नलगाए सम्म
दुर्गम समृद्धिले नसजाए सम्म
कसरी लेखु फेसबुकको वालमा
नयाँ बर्षको हार्दिक शुभकामना !

  1. म भन्छु पहिला
    मान्छेको बहस होस् रेलको हैन
    रोटीको बहस होस् जहाजको हैन
    गरिबको तेज बनोस बिकास
    दाइजोमा पोलिएका आत्माहरुको
    मुक्तिको बाटो बनोस समृद्धि
    बोक्सीको आरोपमा दुत्कारिएका
    हाम्रा आमाहरुको आशा बनोस् चेतना
    अनि वालमा हैन बस्ती बल्नेछ
    दुर्गमले बोल्नेछ
    र सुगमले सुन्नेछ
    नयाँ वर्षको हार्दिक हार्दिक शुभकामना !

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु