‘विदेशमा पैसा टिप्ने रूख छ भन्ने सोच्नु गलत रहेछ’ : टीकाराम यादव

gibl

बिज्ञापन

दाङको राजपुर गाउँपालिका–४का  टीकाराम यादव परिवारको पुर्ख्यौली पेसामै रमाइरहेका थिए। उनीहरूका बाजेका पालमा पनि चारपाँचवटा भैंसी जहिल्यै हुन्थे। तिनै भैंसीबाट हुने आम्दानीले परिवारको गुजारा चल्थ्यो। दूध, दही र घिउ बेच्थे। आम्दानी ठिकै थियो। व्यवहार चलेकै थियो, ठूलो दुःख थिएन।

बिज्ञापन

एकाएक टीकारामलाई अलिक बढी पैसा कमाउने धुन चल्यो। उनले ‘गाउँका धेरै केटाहरू विदेश गएका छन्, म पनि जान्छु, यताको भन्दा बढी पैसा कमाउँछु’ भन्ने सोचे।

भैंसी पालनबाट बचाएको एक लाख रुपैयाँ खर्च गरेर टीकाराम आठ वर्षअघि साउदी अबर पुगे। एउटा इलेक्ट्रोनिक कम्पनीमा काम पाए।

बिज्ञापन

त्यहाँको उखरमाउलो गर्मीमा दिनको १२ घण्टाभन्दा बढी काम गरेर मासिक ७० हजार रुपैयाँजति कमाइ हुन्थ्यो। आफ्नो केही व्यक्तिगत खर्च त्यही पैसाबाट गर्नुपर्थ्यो। त्यति दुःख खेपेर जोगाएको जति पैसा त भैंसीबाटै आउँथ्यो। उता र यताको कामाइमा धेरै फरक परेन। उताको दुःख बयान गरेर साध्य थिएन।

bhaisi21-1706757312.png
उता अर्काको मुलुक, अर्काको अह्रनखटन, उखरमाउलो गर्मी; यता आफ्नो ठाउँ, आफ्नै काम, आफ्नै खुसी, परिवार र आफन्तजनसँगको रमाइलो; टीकारामले तुलना गरे।

‘विदेशमा त पैसा फल्ने रूख नै हुन्छ जस्तो लाग्थ्यो। त्यो त कल्पना मात्रै रहेछ; मिहिनेत धेरै, कमाइ थोरै,’ उनले भने, ‘विदेशमा गरेको जति मिहिनेत नगरी यहीँ (गाउँमै) त्यति पैसा कमाउन सकिन्थ्यो। बढी मिहिनेत गर्दा पैसा पनि बढी हुन्थ्यो।’

अहँ, साउदी अरबमा मन अडिएन। जसोतसो एक वर्ष पूरा गरेर उनी घर फर्के।

विदेश गए पनि टीकारामलाई पछुतो भने भएन। एक वर्षमा उनले विदेशको दुःख चिने, जीवन बुझे, आफ्नै गाउँमा आफूले जानेको काम गर्दा पनि कमाइ हुन्छ भन्ने थाहा पाए।

Ncell

हो, अलिकति हन्डर र ठक्कर खाए तर त्यसले उनको आत्मविश्वास बढायो। आफूप्रति भरोसा भयो। जीवन जिउने व्यावहारिक ज्ञान पाए।

साउदी अरबबाट फर्केपछि टीकाराम परम्परागत रूपमा गर्दै आएको भैंसीपालनलाई व्यावसायिक बनाएर आम्दानी बढाउन अग्रसर भए। उनी यस्तै योजनाका साथ फर्केका थिए। उनले भाइ टेकरामसँग सल्लाह गरे। दुबै जना मिलेर व्यावसायिकरूपमा भैंसीपालन गर्ने टुंगोमा पुगे।

यादव दाजुभाइको गोठमा पाडापाडीसहित ७२ वटा भैंसी छन्। तीमध्ये १७ वटा दुहुना छन्। परिवारजनको दिनचर्या बिहान चार बजे सुरु हुन्छ। दुहुना भैंसी गोठबाट बाहिर सार्न र दुहुन चारपाँच जना लाग्नुपर्छ।

दुहुने काम सकिएपछि महिलाहरू दाना पकाउने र भकारो फाल्ने काममा लाग्छन्। स्याहारसुसारको धेरै काम महिलाहरू गर्छन्। यादव दाजुभाइ चाँजोपाँचो मिलाउने काम गर्छन्।

हाल दैनिक ७० लिटरसम्म दूध बजार पठाउने गरेका छन्। केही दूध स्थानीय घरहरूमा जान्छ, धेरै चाहिँ डेरीले लैजान्छ। घिउ बनाएर पनि बेच्छन्। गाउँमा अटोरिक्सा पुगेपछि २० किलोमिटर टाढाको लमही बजारमा दूध पु¥याउन सहज भएको छ।

बितेका सात वर्षमा यादव दाजुभाइको गोठ भैंसीले भरिभराउ भयो। हाल दूध र दही बेचेर मासिक कम्तीमा साढे एक लाख रुपैयाँसम्म बचत गर्छन्। त्यही कमाइले उनीहरूको २३ जनाको बृहत् परिवार पालिएको छ।

‘खर्च कटाएर मासिक डेढ लाखसम्म बचत हुन्छ,’ ४९ वर्षीय टीकाराम भन्छन्, ‘त्यति पैसा कमाउन हाम्रो परिवारको रातदिनको मिहिनेत परेको छ। परिवारमा खुसी पनि छ।’

टेकरामका अनुसार गाउँघरमा व्यक्ति विशेषलाई दिने र बजारमा डेरीलाई दिने दूधको मूल्य केही फरक छ। प्रतिलिटर ७० देखि ८० रुपैयाँसम्ममा बिक्री हुन्छ। व्यक्ति विशेषले भन्दा डेरीले थोरै कम मूल्यमा पाउँछ।

‘हाम्रो परिवारको मुख्य पेसा नै भैंसीपालन हो,’ टेकराम भन्छन्, ‘यसकै कमाइले हाम्रो परिवार चलेको छ। छोराछोरीको पढाइलेखाइ सबै यसैबाट हुन्छ।’
घिउ र दही किन्नेहरू घरमै आउँछन्। यसरी आउने धेरै जसो सहरका मान्छे हुन्छन्।

bhaisi12-1706757310.png
टेकरामले विदेश जाने सोच बनाएनन्। आफ्ना दाइ टीकाराम एक वर्षकै फर्केर आएपछि त झन् जाने कुरै भएन।

‘दाइ फर्केर आएपछि विदेशमा अर्कोको अधीनमा बसेर दुःख गर्नुभन्दा आफ्नै गाउँमा मिहिनेत गरेर राम्रो कमाइ गर्न सकिन्छ भनेर सम्झाउनुभयो,’ टेकरामले भने, ‘मैले त विदेश जाने सोच्दै सोचिनँ। जवानीमा विदेशमा खुनपसिना बगाउनुभन्दा आफ्नै ठाउँमा मिहिनेत गर्नु राम्रो लाग्यो।’

टीकारामलाई त धेरै युवा विदेश गएपछि देशको विकासमा असर पर्छ भन्ने लागेको छ। उनको विचारमा यो देशमा केही पनि राम्रो छैन भन्ने गलत सोचका कारण विदेश जाने लहर चलेको हो। उनलाई यस्तो लहर एक दिन अन्त्य हुन्छ भन्ने विश्वास छ।

‘केही समय मानिस भड्किन सक्छन् तर युवाहरूले आफ्नै देशमा काम गर्ने दिन आउँछ,’ उनी भन्छन्, ‘आफ्नो परिवारसँग बसेर आफ्नै देशमा काम गर्नुभन्दा ठूलो सुख संसारमा अर्को छैन। हामी त भैंसी पालेरै रमाएका छौँ। कमाइ पनि गरेका छौँ।

यादव दाजुभाइले स्थानीय जातका भैंसी मात्र पालेका छन्। दिनभर राप्ती नदी किनारमा चराउँछन्। स्थानीय भैंसीले दूध कम दिए पनि दूध र घिउको माग धेरै छ।

अब उनीहरू स्थानीयसँगै उन्नत जातका भैंसी थप्ने तयारीमा छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु