सहकारी ठगीको फाइल दबाउने, सुन तस्करलाई जोगाउने ज्ञवाली सीआईबीबाट हटाइए

बिज्ञापन

काठमाडौँ —सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट हटाइएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ ।

एक मन्त्रीका अनुसार ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको हो । प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण वज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखमा सरुवा गरिएको छ । हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार ज्ञवालीमाथि सहकारी ठगीको फाइल दबाएको, सुन तस्करलाई सघाएको, अनुसन्धानको दायरामा ल्याउनुपर्नेलाई उन्मुक्ति दिएको, बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्कमा रहेको, बैंकिङ कसुरका व्यक्तिसित शंकास्पद सम्बन्ध रहेको र केही व्यक्तिमाथि अनावश्यक धरपकड गरेको विषयमा प्रहरीले छानबिन गरिरहेको छ ।

बिज्ञापन

‘पदीय आचरणविपरीत गतिविधि र प्रहरी शक्तिको दुरुपयोग गरेको आरोपमा ज्ञवालीमाथि एआईजी टेकप्रसाद राई नेतृत्वको समितिले छानबिन गरिरहेको रहेछ । यसबारे गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा जानकारी गराउनुभयो,’ एक मन्त्रीले भने, ‘छानबिनमा परेको व्यक्तिलाई महत्त्वपूर्ण निकायमा राखिरहँदा प्रमाण नष्ट गर्ने जोखिम र थप दुरुपयोगको सम्भावना देखाउँदै गृहमन्त्रीले सरुवाको प्रस्ताव ल्याउनुभयो । त्यसका आधारमा मन्त्रिपरिषद् बैठकले उहाँसहित ४ प्रहरी सरुवाको निर्णय गरेको हो ।’

मंगलबारको मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा नै ज्ञवालीको सरुवा रहेको एक मन्त्रीले जनाए । यही साउन १६ मा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीमाथि छानबिन भइरहेको सार्वजनिक गरेका थिए । तर कुन कुन विषय केन्द्रमा राखेर छानबिन भइरहेको भन्ने विवरण भने खुलाएनन् । ज्ञवालीमाथि हाल मन्त्रिपरिषद्ले सरुवा मात्रै गरे पनि उनीमाथिको विभागीय कारबाही तथा थप छानबिन भने एआईजी राई नेतृत्वको प्रतिवेदनपछि मात्रै निश्चित हुने गृह स्रोतको भनाइ छ । ‘भविष्यमा प्रहरीलाई प्राप्त अधिकार दुरुपयोग हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्न ज्ञवालीमाथि कारबाही हुन्छ,’ गृह स्रोतको भनाइ छ ।

सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सीआईबीबाट एआईजी किरण वज्राचार्यलाई हटाएर चैत पहिलो साता एआईजी ज्ञवालीलाई पठाएका थिए । तर, ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान नै गरेनन् । बरु, तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत दबाए । ज्ञवाली लामिछानेको बचाउमै उत्रिए । संसदीय छानबिन विशेष समितिले सहकारीको बचत हिनामिनाबारे असार २१ मा गृह सचिव एकनारायण अर्याल र उच्च प्रहरी अधिकारीहरूसँग गरेको छलफलमा ज्ञवालीले लामिछानेको बचाउ गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु