शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटबाट सारियो जुम्लेकुला

दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटबाट जुम्लेकुलामा सारिएको छ।

बिज्ञापन

यसअघिसम्म शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट सञ्चालन हुँदै आएको कार्यालय वडाकै जुम्लेकुलामा सारिएको हो। पहिलेको ठाउँभन्दा झन्डै साढे २ किलोमिटर पश्चिममा स्थान गरिएको हो ।

बिज्ञापन

गत माघमा गाउँपालिकाको १५ औं गाउँसभाले कार्यालय स्थानान्तरण गर्ने निर्णय पारित गरेको थियो।

तर, त्यसको विरूद्धमा चिराघाटमा चिया नास्ताको पसल सञ्चालन गर्दै आएका केशव खड्का र स्थानीय कर्णदेव देवकोटा सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले साउन २५ गते गाउँपालिकाको पक्षमा निर्णय गरेको थियो। त्यसपछि भदौ २ गते आइतबार बेलुकी कार्यालय स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिए।

बिज्ञापन

जुम्लेकुलामा पालिकाको कार्यालय स्थानान्तरण गरिएपछि अब त्यो ठाउँ सबैलाई पायक पर्ने भएको गाउँपालिका अध्यक्ष बस्नेतले दाबी गरे।

गाउँपालिकामा कुल सात वडाहरू छन्। जुम्लेकुला वडा नं. २, ५, ४ लगायत पालिकाका ८० प्रतिशत मानिसहरूको केन्द्र भागमा पर्ने र स्थानीय हिँडेरै पालिका आउन सक्ने अध्यक्ष बस्नेतले बताए।

पालिकाको वडा नं. १ देखि ३ पहाडी भूभाग हुन्। ४ देखि ७ भने समतल भूभागमा पर्छन्। वडा नं. १ र ३ सल्यानसँग सिमाना जोडिएका विकट पहाडी भूभाग हुन्।

चिराघाटमा गाउँपालिकाको कार्यालय छँदा वडा नं. १ र वडा नं. ६ का स्थानीयलाई कार्यालय आउँदा मात्रै एक हजार रुपैयाँ अटो भाडा तिनुपर्ने बाध्यता थियो, बस्नेतले भने, ‘अब ती वडाका सर्वसाधारणको त्यो समस्या पनि हल हुने आशा गरेका छौं।’

हाल गाउँपालिकाले स्थानान्तरण गरेको जुम्लेकुलाका तीन जना व्यक्तिले आफूहरूले भोगचलन गर्दै आएको ऐलानी १५ कठ्ठा जग्गा निस्शुल्क रूपमा उपलब्ध गराउने सहमति जनाइसकेका छन्।

स्थानीय पहलबहादुर डाँगीले आफूले भोगचलन गर्दै आएको ९ कट्ठा, कुष्ण केसी र दुर्गा वलीले थप ६ कट्ठा जग्गा गाउँपालिकालाई निस्शुल्क रूपमा उपलब्ध गराउने लिखित रूपमा सहमति प्रदान गरिसकेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए।

त्यसका साथै त्यस आसपासको थप दश कट्ठा सार्वजनिक जग्गा अन्य व्यक्ति विशेषले प्रयोग गर्दै आएको र त्यो पनि गाउँपालिकालाई निस्शुल्क रूपमा उपलब्ध गराउने लगभग सहमति भइसकेको बस्नेतले जानकारी दिए।

अब तत्कालै गाउँपालिकाको भवन निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ। गाउँपालिका अध्यक्ष बस्नेतले तत्कालै डिपिआरको काम सुरू गरी छिट्टै भवन निर्माणको लागि टेन्डर आह्वान गरिने बताए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु