निजगढको ग्यारेजमा विष्फोटबाट मृत्यु हुनेको संख्या तीन पुग्यो, तीनजनाको उपचार हुँदै

बाराको निजगढ- ७ स्थित गाडी मर्मत गर्ने कारखाना (ग्यारेज) मा सोमबार भएको शंकास्पद वस्तु विष्फोटको घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विष्फोटमा परि गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका -९ का २० वर्षीय रितु रजतको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।
रजतको बयोधा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा परि यसअघि ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत गुवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको थियो ।
घटनामा अन्य तीनजना घाइते छन् । घाइतेमध्ये भारत रामगढवाका २० वर्षीय अरविन साहको अवस्था गम्भीर छ । साहको बयोधा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी घटनामा वीरगन्ज ९ का फिरोद देवान र निजगढ ५ का सूर्यबहादुर थापा सामान्य घाइते छन् ।
निजगढ- ७ स्थित रोहित वर्कशपमा विष्फोट भएको उक्त शंकास्पद वस्तुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले के विष्फोट भएको हो भन्ने खुलाएको छैन । यसअघि सिलिण्डर पड्किएको भनेर सूचना प्रवाह गरेको प्रहरीले आफ्नो सूचना सच्याउँदै शंकास्पद वस्तु विष्फोट भएको जनाएको छ ।
विष्फोट भएको स्थलमा फलामको टुक्रा भेटिएका छन् । उक्त टुक्रालाई प्रहरीले ल्याब परिक्षणका लागि पठाउने तयारी गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले विष्फोट भएको उक्त वस्तु अहिले शंकास्पद रहेको र ल्याब परिक्षणपछि मात्रै भन्न सकिने बताए ।
प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि दुईजनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि भारत मोतिहारीका रमेश जैसवाल र निजगढ ९ का २९ वर्षीय टिकाराम पाख्रीनलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार पाख्रीनले उक्त वस्तु कवाडीको कारोबार गर्ने जयसवाललाई बेचेका थिए । जयसवालले उक्त वस्तु काट्नका लागि भन्दै ग्यारेजमा लगेका थिए । फलाम जस्तो देखिने उक्त वस्तुभित्र तामा रहेको भन्दै ग्यारेजका संचालकलाई एक सय रुपैया दिएर लेथ मेसिनबाट काट्न लगाएको प्रहरी उपरीक्षक काफ्ले बताएका छन् ।
‘पहिला ५० रुपैया दिएको रहेछ । ग्यारेज संचालकले काट्न नमानेपछि एक सय रुपैया दिएर काट्न लगाएको पाइयो’ प्रहरी उपरीक्षक काफ्ले भने ‘लेथ मेसिनबाट काट्ने क्रममा अचानक विष्फोट भएको देखियो ।’
कवाडी सञ्चालकले घरमै राखेका थिए उक्त वस्तु
निजगढ नगरपालिका ९ मा बसेर कवाडीको कारोबार गर्दै आएका जयसवालले उक्त वस्तु केही दिन घरमै राखेको समेत खुलेको छ । गुडाउन मिल्ने उक्त वस्तु कवाडी सञ्चालकका सन्तानले समेत खेलाउने गरेका थिए । प्रहरी उपरीक्षक काफ्लेका अनुसार केही दिन कवाडीको कारोबार गर्ने व्यक्तिको घरमा साना बालबालिकाले खेलाएको र पछि तामा झिक्नका लागि भन्दै जयसवालले ग्यारेजमा लगेका हुन् । घटनापछि फरार भएका उनलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक काफ्लेले अज्ञानताको कारण उक्त घटना हुन पुगेको बताए । ‘उक्त वस्तु घरमै राखेको र बच्चाले खेलाएको पनि बुझियो’ काफ्लेले भने ‘केही दिन पछि ग्यारेजमा लगेर काट्न लगाइयो । ग्यारेज सञ्चालकले पनि उक्त वस्तु के हो भनेर अनुमान लगाउन सकेनन् ।’
प्रहरी उपरीक्षक काफ्लेले उक्त वस्तु के हो र कसरी आइपुग्यो भन्नेमा अनुसन्धान जारी रहेको बताए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु