गगन थापाले स्थापना गरेको ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ । केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो । महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ ।

बिज्ञापन

महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इञ्चार्ज गीताकुमारी साउदले जानकारी दिए । महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरुपमा चलाउन चाहेको छ । स्थानीयवासी करिष्मा कुँवर केन्द्रले राम्रो सेवा दिएकाले सामान्य उपचारका लागि अन्य अस्पतालसम्म पुग्नुपर्ने अवस्था नरहेको बताउँछन् । ससुराको गोडाको शल्यक्रियापछि आएको घाउ केन्द्रमै ठीक भएकाले अन्य अस्पताल जानु नपरेको उनले सुनाए । केन्द्रमा राम्रो ड्रेसिङको व्यवस्था भएकाले टोल छिमेकमै उपचार पाउँदा स्थानीयवासी हर्षित बनेका छन् ।

बिज्ञापन

केन्द्रमा समय–समयमा महिलाका लागि पाठेघरको जाँचका लागि शिविरको आयोजना हुने गरेको छ । यसले धेरै महिलामा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सजिलो भएको छ । यसैगरी पुरुषको प्रोस्टेट क्यान्सरको पनि परीक्षण हुने गरेको छ । केन्द्रमा डेङ्गीको पनि निःशुल्क परीक्षण हुने गरेको छ । केन्द्रमा ९८ प्रकारका औषधि निःशुल्क वितरण हुन्छ । अन्य औषधिमा भने २५ प्रतिशत सहुलियतमा बिक्री हुने गरेको छ।

वडा सदस्य इन्दिरा श्रेष्ठ सिंह स्वास्थ्यका लागि महानगरका अन्य वडाका केन्द्रभन्दा राम्रो भएकैले महानगर प्रमुख बालेन्द्र शाहले अनुगमन गरी व्यवस्थापन लिने निर्णय गरेको जानकारी दिए । काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाको सक्रियतामा केन्द्र स्थापना गरिएको हो । थापाले स्वास्थ्यमन्त्री हुँदा केन्द्र स्थापना गर्ने निर्णय गरेका थिए । स्थापना हुनुअघि नै उनी मन्त्री पदबाट हटेपछि केन्द्र अलपत्र बनेको थियो । त्यसैकारण महानगरपालिकासँग सम्झौता गरेर मानव स्वास्थ्य नामक सामाजिक संस्थाले यसलाई सञ्चालनमा ल्याएको थियो । अहिले ३२ वडामध्येको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएपछि भने महानगरले व्यवस्थापन लिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु