काठमाडौंमा नेपाल युथ समिट : यस्तो रहनेछ सहभागिता

काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा हुन लागेको नेपाल युथ समिट (युवा सम्मेलन)को तयारी अन्तिम चरणमा पुगेको छ । प्रमुख वक्ताहरुको सूची लगभग अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ ।

बिज्ञापन

राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरुले प्यानलिस्टका रुपमा भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक भुपेन्द्रजङ शाहीले जानकारी दिए । समिटमा देशभरका करिब पाँचसय युवाको सहभागिता रहने उनले बताए ।

बिज्ञापन

पहिलो दिन अर्थात भदौ २८ गतेको उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्मा सहभगी हुने निश्चित भइसकेको छ । युथ समिटमा प्रमुख वक्ताको रुपमा सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामालगायत सहभागी हुने निश्चित भएको संयोजक शाहीले जानकारी दिए ।

यसैगरि समिटमा चर्चित उद्योगी चौधरीसहित नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, बैंकर्स भरत ढकाल, चर्चित उद्यमी विदुषी राणा, चर्चित खेलाडी पलेशा गोवर्धन, बैंकर्स मनोज ज्ञावली, अभिनेता अनुप विक्रम शाही, अभिनेत्री निता ढुङ्गाना, उषा रजक, गायक रामजी खाण, गायिका टिका पुन, राधिका हमाललगायत विभिन्न क्षेत्रका विज्ञहरु, युवा उद्यमीहरु, चलचित्रकर्मी लेखक, साहित्यकार , सामाजिक अभियन्ताहरु, जनप्रतिनिधिहरु वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।

बिज्ञापन

नेपाली युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ र समुन्नत र समृद्ध नेपालको चाहनालाई पूरा गर्न युवाहरूको भूमिका अतुलनीय रहन्छ भन्ने कार्यक्रमको अभिप्राय रहेको पनि कार्यक्रम संयोजक शाहीको भनाइ छ । समिटमा विभिन्न क्षेत्रमा विशिष्ट भुमिका निर्वाह गरिरहेका युवाहरूले भाग लिने कार्यक्रम तय भएको छ ।

समिटमा आर्थिक, समाजिक, सांस्कृतिक, राजनीतिक, उद्यमशीलता, आप्रवासन, युवा सरोकार, खेलकुदलगायत विभिन्न विषयहरूमा विषयगत छलफल गरी राष्ट्र निर्माणमा साझा संकल्पसहितको सातबुँदे घोषणापत्रसमेत जारी गर्ने राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मल कुमार उप्रेतिले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु