कविता : कहाँ पुग्यौ?

गाउँको रहर उड्‌यो सहर पुग्यो
सहरबाट उडेको बाध्यता कहाँ पुग्यो?
गाउँमा माटोसँग खेल्न मन लागेन भनेर
निकै मिठा सपनाको पोको पारेर
झिलिमिली सहरमा पसेका रामे
हर प्रहर सहरबाट उडेका
स्वदेशका आसाका त्यान्द्रा चुडेका
हो तिनै विमानबाट उडेका थिए
कहाँ पुगे?
कुन्नी कहाँको गोरे घुम्न नेपाल आउँछ
नेपालबाट घुम्न भनेर गएको हर्के
कहाँ पुग्यो?

बिज्ञापन

सेताम्मे गगनचुम्बीको शिर उठाइ
पहाडका हरिया घाँगरमा सजिएर
पहेँलम्पुर तराईका फाँटमा
उभिएकी हाम्री आमा
सन्तान भौतारिदै दौडिरहेको देख्छिन्
आँसु सुकेका आँखा पनि
अलि भिजाउदै भन्छिन्
मेरा सिरानी मुनी हेर त!
तिम्रा लागि केही राखेकी छु,
मेरो पटुकीको छेउ खोतल्ने आँट गर
त्यहाँ ढुकुटी भेट्नेछौ।
मेरो फररर परेको घाँगर भित्र
पत्रैपत्र मिलाएर राखेका
सुन्दर सम्भावनाका रत्नहरु छन्
तिम्रा खुसीहरु मै सँग छन्
तिमी खुशी खोज्न कहाँ पुग्यौ?

बिज्ञापन

तिमीले मलाई चिन्दैनौ
अनि छिमेकीले कसरी चिनोस्!
एक नौलो पुस्तक कुनामा फ्याँकियो
गाथा फोहोर भयो
त्यही पुस्तक हुँ म
गाथा फेर्ने जमर्को मात्र गर तिमी
म निकै सुन्दर देखिने छु ,
पानामा पनि मिठास भरेकी छु
मलाई साथ दिन्छौ भनी भर परेकी छु,
आसन म दिउँला
तिमी प्रशासन राम्रो बनाऊ
खैरे आउँछ हाम्रो घरमा
ज्याला मजदुरी खोज्दै
तिमी कतै नजाऊ
मात्र मसँग परिचय त गर
तिमिले आमा बिर्से पनि
मैले सन्तान बिर्सन सक्दिनँ
आऊ मेरो काखमा लुटुपुटु गर
सारा सुख र सन्तुष्टि दिनेछु
आऊ फर्केर
मुस्कानको लहर हाम्रै सहरमा छ
आँसुको झोला बोकेर तिमी कहाँ पुग्यौ?

सुधार आवाजमामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sudharaawaj.news@gmail.com मा पठाउनु होला।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु