अन्तिम प्रेम पत्र

बन्द कोठामा छु । अँध्यारो छ । अँध्यारो भित्र म छु । जीवनमा र घडीमा पनि बाह्र बजेको छ । झ्याल छ । झ्यालमा पर्दा छ । ढोका छ । ढोकामा पर्दा छ । तर तिम्रा यादहरू खै कुन बाटो भएर आउँछन् पत्तो छैन । यो प्रेमपत्र कलमले हैन , आँशुले लेख्दैछु । कथा पसिनाले लेखिन्छ , व्यथा आँशुले । पत्रको पन्ना अन्तिम हुन सक्छ तर तिम्रो ओठको हाँसो अन्तिम नहोस् ।

बिज्ञापन

सुन…

बिज्ञापन

तिमीसँग टाढा जाने थुप्रै बाहना छन्
मसँग तिमीबाट छुट्ने कुनै चाहना छैनन् !

उसो त ‘काठमाडौँको रिङगरोड’ जत्रै लामो भो हाम्रो गफ भएको । अनि , ‘थानकोटको उकालो’ जति नै भयो, कुराकानी ठप्प भएको । नाफाघाटाका कुरा छोड्दिम् । यो माया थियो । कुनै प्राईभेट कम्पनीको जागिर थिएन । हैन पनि ।

बिज्ञापन

ह्या भयो , छाडी दिएँ, ‘सम्बन्धको वासलात’ मिलाउन । यहाँ आफ्नै जिन्दगीको वासलात मिलाउन त सकिरा छैन । भो गर्दिनँ , टाढा गएकाहरूलाई नजिक बोलाउने कुचेष्टा । झन् गर्दिनँ, ‘फर्केर पनि हेर्दिनँ’ भनेर टिमुर्किएर कुलेलम ठोकेकाहरूको हात तानेर ‘फर्की आऊ’ भन्ने दुस्साहस । समयले बनाएको घाउ हो । समयले नै निको पार्ला । निको पार्ला, या झन् बल्झाउला । अथवा निको नपार्ला , नबल्झाउला । केही गर्ला पनि । केही नगर्ला पनि । उस्तो आशा त कसै प्रति छैन । न तिमीसँग , न समयसँग न अरू कसै संग ।

लाग्छ , तिमीसँग भेट नभैदिएको भए हुन्थ्यो । तिमिले नबोलाएको भए पनि हुन्थ्यो । तिमीले मलाई भेट्न बोलाएर तिमी आफू नआईदिएकी भए पनि हुन्थ्यो । तिम्रा अधरका सारथी मेरा अधर नबनी दिएका भए पनि हुन्थ्यो । तिमी आगो, त्यहीँ आगो अघि म घ्यू नबनी दिएको भा पनि हुन्थ्यो ।

तिमी प्रेमको गहिरो कुवा थियौ , म पात , उमेरको हाँगाबाट खसेर कुवा भित्र नपरेको भा पनि हुन्थ्यो । यति भैदिएको भए , म ुअहिलेको मु हुन्न थिएँ । तिमी पनि , ुहिजो आजकी तिमीु हुन्न थियौँ । तिमी केही त हुन्थ्यौ । म पनि केही त पक्का हुन्थेँ । यो कुरा पक्का हो ।

अँ मैले बुझ्नु पर्थ्यो । समयको नदिमा पानी एकै रङ्गको , एकै मूलको , एकै प्रकृतिको बग्दैन भनेर । त्यो बुझिनछु । प्रेमको सुनामीमा यसरी परिएला भन्ने पनि के थाहा ? ए उम् तिमी त ‘पानीको रङ्ग हुँदैन’ भनेर जान्ने पल्टिने मान्छे हौ क्यारे । तिमीलाई मेरा शब्दले के छुन्थ्यो र ? नछोओस् पनि । ढुङ्गो पग्लेला भन्ने कुरामा महत्वाकांक्षाको रूख किन रोप्नु ? बेक्कार हो ।

‘खाना नखाएर हैन , कहिलेकाहीँ खाना खाएर पनि भोक लाग्छ है बाबु !’ भनेर भन्थिन् गाउँकी एक जना भाउजू ।

प्रेमको नियम पनि ठ्याक्कै यस्तै । छुटिन चाहेर हैन , कहिलेकाहीँ छुटिन नचाहँदा नचाहँदै पनि, छुट्नु पर्दो रहेछ । तिमीले सिकाएको पाठ जम्माजम्मी यत्ति मात्रै हो । ह्या फेरि म के भन्दैछु , तिमीले हैन मैले सिकाएको हो क्यार !

धेरै के बोल्नु ? जिब्रोको कामै बोल्ने हो । पतरपतर गरीराख्छ । सम्बन्धको डुङ्गा समयमै किनार पुग्यो । अलिकति समय यता उता भैदिदो हो त , न डुङ्गा किनार पुग्थ्यो ,न डुङ्गामा यात्रा गरेकाहरू यात्रुहरू किनार पुग्थे । यस मानेमा तिमीलाई मैले दिन सक्ने जति धन्यबाद।

रूपैयाँ र कागज हुन् । टुक्रा टुक्रा भए पनि जोडेर , टालेर एक बनाउन सकिने भनेका । तर सिसा सकिन्न । प्रेम रूपैयाँ, कागज हैन । सिसा हो । टुक्रेपछि सकियो । झन् हतियार पो बन्छ त बा !

तराजुमा जोख्यौ भने पनि , तिमीले दिएको माया भुईँ तिर ढल्किन्थ्यो किनकी वजनदार थियो । फलाम जस्तो । अनि मैले दिएको माया, आकाश तिर फर्किन्थ्यो । किनकी हलुका थियो साबुनको फिज जस्तो । यसैले बराबर हुन तिमीले मलाई केही दिन पर्थ्यो या तिमीले केही गुमाउन पर्थ्यो । न तिमीले मलाई केही दियौ, न गुमायौ नै । उम, अब मलाई भने गुमाउँछौ । मलाई गुमाए पनि, अर्कोलाई पाईहाल्छौ । यसर्थ एक मलाई गुमाएको खुशी, अर्को कसैलाई पाएको खुशी । तिम्रा खुशीका दुईटा फल एकै दिन फुल्नेछन् , फल्नेछन् पनि ।

बजारबाट ल्याएका आलु घरमा खटिया मुनि राख्दा कुहिन्छ । बिग्रिन्छ । ठ्याक्कै यस्तै मेरो प्रेमलाई तिमीले खटिया त कता कता, डस्टबिनमै राखीदियौ । ठिक छ । तर कुहिहालेको , बिग्रीहालेको छैन ।

म पखाली ओरी, यो ‘ठ्यास्ने प्रेम’लाई अब बाकसमा ताला मारेर राख्ने । चाबी हराई दिने हो । न खुल्ने आश, न कसैले कहीँ लगेर फाली देला भन्ने चिन्ता !

मलाई थाहा छ । अर्को गोरूसीत जुध्न नसकेपछि, रिसाएको साँढे जस्तै रिसाएकी छौ तिमी । रिसाउन पर्ने कारण छन् । म प्रति गुनासाहरू छन् । आक्रोशका लामा लामा शृङ्खला छन्। म बुझ्दछु यो कुरा पनि । म संग चाहिँ छट्पटीका ठूला ठूला उकाला छन् । ओभरलोड बोकेर उकालोमा हिँडिरहेको ठूलो मालवाहक ट्रक जस्तै छ जिन्दगी। न राम्ररी अगाडि जान सक्छ , न पछाडि नै । ठीकै छ । एक बारको हैन , सात बारको जिन्दगी रमाईलो गरी बिताउनू । हुन त तिमीलाई मैले के सिकाउनु ? केपी ओलिलाई उखान सिकाए जस्तो भैजान्छ । खुर्सानीलाई पिरोको बारेमा बताए जस्तो हुन्छ ।

आँखै अगाडि पापी शिकारीले गुँड कुरीरहेको बेला गुलेलीले हानेर मारेको भँगेरी जस्तै छ – हाम्रो प्रेम । यसमा न सास छ , न बाँच्ने आस । यस्तो ुलासु प्रेमलाई खोलामा लगेर बगाईदिउ भन्ने दुस्साहस म भित्र ‘बर्खामा खोलामा पानी बढे’ जस्तै बढीरहेको छ । तिमी नरिसाउनू । भोगटे जत्रो दोष मलाई दिनू । त्यो भित्रको बियाँ जत्रो दोष भाग्यलाई दिनू । तिमी आफू निर्दोष हुनू । किनकी तिम्रो दोषै छैन । अन्त ?

राजधानीका घरभाडामा बस्दा चाबी जुत्तामा लुकाए जस्तो , मैले जीवनको चाबी तिम्रो हृदयको कुनामा यति छिटै लुकाउन नहुने रुछ । अब लुकाई त हालेँ । गल्ति भो भनेर पनि के भन्नु ?

माईक्रोबसमा यात्रा गर्दा तीन चार रूपियाँ फिर्ता मागे जस्तो मैले तिमीलाई प्रेम गरे बाफत मलाई पनि मायाको घाम फिर्ता मागीरहन्छु तर तिमी ह्या तीन चार रूपैयाँ पनि के फिर्ता मागीरहेको होला भनेर तर्की तर्की हिँड्छ्यौ–सहचालक जस्तो ।

ए उम् खलासीलाई सहचालक भन्न पनि तिमीले नै हो सिकाएको । म तिम्रो प्रेमी हुनु पहिले, तिम्रो प्रेमी सहचालक थियो रे । पत्र लेख्दा लेख्दै यो पनि दिमागमा आईदियो । युट्युबमा भिडियो हेर्दा बिच्च बिच्चमा एड आए जस्तो ।

घृणासँग तिमी तर्किएकी भए पनि चुक खाएर चित्त बुझाइन्थ्यो क्यार । अब तिमी प्रेमकै उज्यालोसँग तर्सिएपछि म ‘तीनछक नपरेर’, सिंहदरबार अगाडि उभिएको पृथ्वीनारायण शाहको शालिक तीनछक पर्छ र ? गणितमा दुई नम्बरले फेल भएको एउटा लाष्ट बेञ्चरको जस्तो अनुहार छ मेरो । उम् , मैले पनि तिम्रो प्रेमको गणित पास गर्न सकिनँ । अब गणित टिचर हैन, स्कुल नै फेर्न पर्ने भो ।

‘ओई, अब मलाई नबोलाउनू । नबोल्नू । मलाई बिर्सिनू ।त्यसरी बिर्सिनू – जसरी परीक्षा सक्केपछि मान्छे सिम्बोल नम्बर बिर्सिन्छ । कक्षा सक्किएपछि रोल नम्बर बिर्सिन्छ । म स्वतन्त्र हुन चाहन्छु । तिम्रो बाध्यताको जन्जिरबाट चुँडिएर म रहरको चङ्गा हुन चाहन्छु । तिम्रो प्रेमिल बार्दलीको छायामा म बस्न सकिनँ । उकुस मुकुसको नयाँ नयाँ शृङ्खलामा कति बाँचीरहनु ? न तिमीलाई माया गर्छु । न घृणा नै । केही गर्छु पनि । केही गर्दिनँ पनि ।’

तिमीले हिजो सपनामा भनेका कुरा यति मात्रै हुन । सपना पनि क्या टेसिलो देखिएको बाबै । च्वास्स कलेजोको छेउकुना पो घोच्यो त । तिमीलाई यी कुरा पनि पत्रमै लेखेर पठाएँ। यति पढ्नू मज्जाले ।

ह्या… कस्तो मान्छे म , मेरो चार लाईनको म्यासेज पढ्न फुर्सद नहुनेलाई यो चार सय शब्दको मनगढन्ते निबन्ध पनि के पढ्नू भनिरा होला म पनि ? रिस उठ्नी !

ठीकै छ । पढ्न मन नलागे पत्र लगेर चटपटे बनाउने दाईलाई दिनू । चिठीमा पोखेका मेरा आँशुहरूमा कसैले अमिलो , पिरो , नुनिलो , टर्रो मिसाई दिनेछ । मेरा आँशु यत्तिका लायक छन् खासमा । तिमी यो सब राम्ररी बुझ्छौ ।

अनि धन्यबाद – जे सिकायौ त्यसका लागि । जे जे सिकाईनौ त्यसका लागि । अनि माफी दिनू – जे जे सिकाएँ त्यसका लागि र जे जे सिकाउन छुटाएँ त्यसका लागि !

उम अब देखि म पुतली हुने छैन । तिम्रो बलिरहेको जीवनबत्तीलाई डिस्ट्रब गर्न । म हुरी पनि हुने छैन , तिम्रो बलिरहेको आगो निभाउन । अनि म हावा झन् हुने छैन , तिम्रो बलिरहेको मैनबत्ती निभाउन ।

अँ, चाईनाको ग्रेट वाला भन्दा लामो , धरहरा भन्दा अग्लो , फेवाताल भन्दा ठूलो , सेफोक्सुन्डो भन्दा गहिरो आशा यो छ कि, अब यो पत्र पढिसकेपछि म प्रति तिम्रा कुनै तिता गुनासा , पिरा रिस , अमिला सपना हुने छैनन् । ती नहुन् पनि ।

तिमी हिँड्नमा बहुत माफिर छौ । अर्को जुनीमा घोडा हुनु । तिम्रो हिँड्ने प्यासन देखेर कुनै दिन मैले सोधेको थिएँ, ‘तिम्रा पैतलाहरू दुख्दा म चप्पल बनिदिएँ भने , तिमी चप्पल छौड्छौ कि हिँड्न ?’

मेरो कुरा भुईँमा पोखिन नपाउँदै तिमीले भनेकी थियौ, ‘म चप्पल छोड्छु तर हिँड्न छोड्दिनँ ।’

हो , ठ्याक्कै आज सम्मको यात्रामा म चिप्पल थिएँ, तिम्रो पैतलाको । अब फुक्लिएँ । छुटे कतै । च्यातिएँ कतै । टुक्रिएँ कतै । तिम्रा पैतला स्वतन्त्र भएका छन् । अब तिमी झन् घाम झैँ पारिलो हिँड्नू । तिम्रो सफर, ‘पूर्णिमाको रात तलाउमा देखिएको चन्द्रमा’ जस्तै सुन्दर होस् ।

र अन्त्यमा, ‘सात पटक बिहेको मण्डपमा घुमेका चौध छोराछोरीका बाउआमा त छुट्नुपर्छ, तिमी को हौ , म को हुँ, हामी को हौ र ?… तिमीले बोलेको यो वाक्यले तिम्रो जीवनको गाडी गुड्नुमा पेट्रोलको भूमिका खेलोस् । शुभकामना ! बधाई । मायाका अनगिन्ती भावहरू !

उही
तिमीलाई, आफ्नो नलागेको तिम्रो मान्छे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु