स्वास्थ्य क्षेत्रमा देखियो जनशक्तिको चरम अभाव

सुर्खेत, माघ २७ गते । कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत वृषबहादुर शाहीले करार चिकित्सकको भरमा विशेषज्ञ सेवा दिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँकाअनुसार कूल दरबन्दीमध्ये ३० पद मात्र पूर्ति भएको छ । यसबाहेक ५३ जना चिकित्सक करार सम्झौतामा कार्यरत छन् ।

बिज्ञापन

बाँकी ९७ जना छात्रवृत्ति करारअन्तर्गतका छन् । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुनेगरेको छ ।

बिज्ञापन

प्रदेश अस्पताल सुर्खेतमा समेत चिकित्सकको दरबन्दी रिक्त छ । अस्पतालमा ८० चिकित्सकको दरबन्दी रहेकोमा १८ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । २७ जना करार दरबन्दीमा रहेको जनाइएको छ । ५२ जना छात्रवृत्ति करार र संघ संस्थाबाट खटाएका चिकित्सक समेत छन् ।

यस्तै, पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालले समेत चिकित्सक अभाव झेलिरहेको छ । ११ जना चिकित्सकको स्थायी दरबन्दी रहेको अस्पतालमा एक जना मात्र कार्यरत छन् । बाँकी तीन जना करारमा तथा छात्रवृत्ति र संघ संस्थाबाट ६ जना कार्यरत छन् ।

बिज्ञापन

जिल्ला अस्पताल दैलेख पनि आवश्यक चिकित्सकविहीन बनेको छ । १३ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दुई जना मात्र कार्यरत छन् । अस्पतालमा करार दरबन्दी पाँच जना, छात्रवृत्ति करार र संघ संस्थाबाट तीन जना चिकित्सक छन् । जाजरकोट अस्पतालमा १३ जना चिकित्सकको स्थायी दरबन्दी रहेकोमा एक जना मात्र कार्यरत छन् । करारका चिकित्सकबाट कार्यसम्पादन भइरहेको छ । अस्पतालमा दुई जना करारका चिकित्सक र नौ जना अन्य क्षेत्रबाट कार्यरत छन् ।

सल्यान अस्पतालमा समेत चिकित्सकको दरबन्दी रिक्त छ । अस्पतालमा १३ जनाको स्थायी दरबन्दी हो । हाल एक जना चिकित्सक मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । छात्रवृत्ति र करार गरी ६ जना अन्य चिकित्सक रहेका छन् । रूकुमपश्चिम अस्पतालमा एक जना स्थायी दरबन्दीका चिकित्सक कार्यरत छन् ।

अहिले करारकै भरमा जिल्ला अस्पताल चलेको छ । अस्पतालमा करार दरबन्दीका दुई जना र छात्रवृत्ति तथा संघ संस्थाबाट आठ जना कार्यरत छन् । कालीकोट जिल्ला अस्पतालमा पनि पर्याप्त चिकित्सक नरहेको व्यवस्थापन पक्षको भनाइ छ ।  नौ जनाको स्थायी दरबन्दी रहेकोमा दुई जना चिकित्सक मात्र कार्यरत छन् । त्यहाँ तीन जना करार र पाँच जना छात्रवृत्ति तथा संघ संस्थाबाट कार्यरत छन् ।

मुगु जिल्ला अस्पतालमा नौ जना चिकित्सकको दरबन्दी छ । हाल दुई जना चिकित्सक मात्र दरबन्दीमा कार्यरत रहेको अस्पताल स्रोतले भनेको छ । पाँच जना करार र दुई जना छात्रवृत्ति करारबाट कार्यरत छन् ।

डोल्पा जिल्ला अस्पतालमा नौ जना चिकित्सकको दरबन्दी रहेकोमा दुई जना मात्र कार्यरत छन् । अस्पतालमा एक जना करार र तीन जना छात्रवृत्तिका चिकित्सक छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हुम्ला अस्पतालमा एक जना पनि दरबन्दीका चिकित्सक छैनन् । करार चिकित्सककै भरमा अस्पताल सञ्चालन भइरहेको छ । दुई जना करार र ६ जना छात्रवृत्तिका चिकित्सक कार्यरत छन् ।

स्थायी बरबन्दीमा आधाभन्दा कम 

प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । स्थायी दरबन्दीतर्फ आधाभन्दा पनि कम कर्मचारी मात्र पदपूर्ति गरिएको छ । ठुलो संख्यामा दरबन्दी रिक्त छन् । विशेषज्ञ चिकित्सक नै न्यून छन् । जनशक्ति अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन ।

प्रदेशमा स्वास्थ्य सेवातर्फ नौ सय नौ जना कर्मचारीको दरबन्दी छ । तर त्यसमध्ये हाल ३२७ जनाको मात्र पदपूर्ति भएको छ, ५८२ जनाको स्थायी दरबन्दी रिक्त छ । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको छ । प्रदेशभर झन्डै ८०० संख्यामा अस्थायी र करार जनशक्ति भर्ना गरिएको छ । करार दरबन्दीमा २५२ जना कार्यरत छन् भने अस्थायी र अन्य करारमा गरेर ५४६ जना कर्मचारी छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु