निश्चित उमेरपछि शरीरमा हार्मोनल परिवर्तन भएर शारीरिक कार्यमा ह्रास आउने गर्छ । यसलाई मेनोपज भनिन्छ । महिलामा हुने रजोनिवृत्ति एक यस्तै प्रकिया हो । महिलामा हुने मेनोपजको धेरै चर्चा हुने भएपनि पुरुष पनि यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् । तर यसबारे त्यति चर्चा भएको पाइँदैन ।
महिलामा ४५ देखि ५० वर्षको उमेर पुगेपछि रजोनिवृत्ति (मेनोपज) सुरु हुन्छ अर्थात् बिस्तारै महिनावारी बन्द हुन्छ । यो शरीरमा महिला हार्मोनको उत्पादन बन्द हुने कारणले हुने गर्छ । यो अवधिमा महिलालाई मुड स्वीङ, चिडचिडापन, कमजोरी, हड्डी कमजोर हुने, कपाल झर्ने जस्ता धेरै समस्या देखिन्छ । तर यो उमेरमा हुने हार्मोनल परिवर्तनका कारण महिलालाई मात्रै होइन, पुरुषलाई पनि धेरै समस्या हुने गर्छ ।
बिज्ञापन
५०-५५ वर्षको उमेरमा हुने मेनोपजले पुरुषको स्वास्थ्य र मुडलाई प्रत्यक्ष असर गर्छ । पुरुषमा टेस्टोस्टेरोन नामक हार्मोन हुन्छ, जसले उनीहरूको यौन जीवनलाई नियन्त्रण गर्छ । ५० वर्ष पुगेपछि त्यसमा परिवर्तन आउन थाल्छ र यसको उत्पादन घट्न थाल्छ, जसकारण पुरुषको मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पर्छ । पुरुषमा यो अवधिलाई वृद्ध पुरुषको एन्ड्रोजनको कमी भनिन्छ ।
बिज्ञापन
टेस्टोस्टेरोनको मात्रा घट्दा कारण पुरुषमा उर्जाको कमी, डिप्रेसन वा निराशा, आत्मविश्वासको कमी, ध्यान केन्द्रित गर्न कठिनाइ, अनिद्रा, मोटोपन, शरीरमा कमजोरी महसुस हुनेजस्ता मानसिक समस्या देखिन्छन् ।
स्वास्थ्य विशेषज्ञ नियाज अहमदका अनुसार पुरुषमा ५० देखि ६० वर्षको उमेरमा रजोनिवृत्ति अवस्था हुन्छ । महिलाले जस्तै पुरुषले पनि यस समयमा आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नु आवश्यक हुन्छ किनभने यस समयमा उनीहरूको शरीरमा धेरै परिवर्तन आइरहेका हुन्छन् । यसमा भावनात्मक र शारीरिक दुवै परिवर्तन हुन्छन् ।
बिज्ञापन
पुरुषमा ५० वर्ष पुगेपछि मुटुसम्बन्धी समस्या हुने खतरा पनि धेरै हदसम्म बढ्दै जान्छ । किनभने यो उमेर पुगेपछि शरीरको नसाको लचक कम हुन थाल्छ र रक्तनलीहरू पहिलेको तुलनामा धेरै कमजोर हुन थाल्छन् । जसकारण मुटुसम्बन्धी धेरै प्रकारका समस्या अचानक व्याप्त हुने गर्छन् । यसमा हृदयघात पनि हुनसक्छ ।
मेनोपजका कारण पुरुषको शरीरमा ऐस्ट्रोजन हार्मोन उत्पादनमा ह्रास आउँछ । जसको असर मानसिक स्वस्थ्यमा पर्छ र छिटो मुड स्वीङ हुने, चिडचिडापन हुने, एक्लो महसुस गर्ने र भावनात्मक रुपमा कमजोरी महसुस गर्ने गर्छन् ।
पुरुष हार्मोनको कमीका कारण स्वास्थ्यमा अन्य धेरै रोगको जोखिम पनि बढ्छ । जसमा मुटुसँग सम्बन्धित समस्या लाग्ने सम्भावना बढी हुन्छ । मुटुरोग लाग्दा पुरुषलाई कम्मर दुख्ने, वाकवाकी लाग्ने, छातीमा जलन हुने, भोक नलाग्ने वा धेरै कम लाग्ने, खोकी लाग्ने, सधैं थकान महसुस हुने र मुटुको धड्कन बढ्नेजस्ता समस्या देखिन्छ । यसबेला धेरै व्यक्तिमा प्रोस्टेट ग्रन्थीको आकार पनि बढ्ने र कडा हुन्छ । जुन टेस्टोस्टेरोनको स्तर कम हुनुको मुख्य लक्षण हो । यद्यपि, यो व्यक्तिअनुसार फरक-फरक हुनसक्छ । शरीरमा टेस्टोस्टेरोन स्तर कमी भएमा वा प्रोस्टेट ग्रन्थी बढ्ने जस्ता दुवै समस्या औषधिद्वारा उपचार गर्न सकिन्छ । त्यसैले यस्ता लक्षण देखिएमा नजिकको चिकित्सकसँग जाँच गराइहाल्नुपर्छ ।
मेनोपजका कारण पुरुषलाई पनि न्युरोलोजिकल समस्या बढेर चिन्ता, तनाव र आफ्नो काममा ध्यानकेन्द्रित गर्न नसक्ने समस्या देखिन्छ । कतिपय पुरुषले यो अवधिमा स्मरणशक्ति घट्ने वा स्मरणशक्ति गुमाउने समस्याको पनि सामना गर्नुपर्ने हुन्छ । यी सबै एस्ट्रोजन हार्मोन अर्थात् पुरुष हार्मोनको कमीले हुन्छ ।
त्यस्तै ५५ देखि ६५ वर्षको उमेरमा हड्डी कमजोर हुँदै जाने हुन्छ । यस अवधिमा पुरुषमा हड्डीका तन्तुहरू द्रूत गतिमा बिग्रिन्छन् । जसकारण हड्डी कमजोर हुने हुन्छ । त्यसैले यो उमेरमा पुरुषहरूले आफ्नो आहारमा क्याल्सियम, आइरन र भिटामिनको मात्रा बढाउनु जरुरी छ । फास्टफुडबाट सकेसम्म टाढा हुनुपर्छ ।
क्याल्सियमले हड्डीलाई बलियो राख्ने काम गर्छ भने आइरनले शरीरमा रगतको प्रवाहलाई अर्थात् रक्तसञ्चार नियमित गराउन मद्दत गर्छ । साथै यसले शरीरको रक्तनलीको मात्रालाई कायम राख्न मद्दत गर्छ । अर्थात्, यसले रगतका धमनीहरूलाई साँघुरो हुनबाट जोगाउने काम गर्छ । यसले कार्डियोभास्कुलर रोग अर्थात् मुटुरोगको जोखिम कम गर्छ ।
त्यसैले मेनोपजबाट गुज्रिरहेका पुरुषले तनावबाट टाढा रहने प्रयास गर्नुपर्छ । नत्र डिप्रेसनमा जाने सम्भावना हुन्छ । सामान्यतया पुरुषले आफ्ना दुःख, पीडा र समस्या सजिलै कसैसँग बाँड्दैनन् । त्यसैले यस्तो समस्याबारे कसैलाई थाहा हुँदैन । ५५ देखि ६५ वर्षको उमेरमा सबैभन्दा असहाय र कमजोर महसुस गर्ने गर्छन् । त्यसैले यसबेला परिवारले उनीहरुको मानसिक अवस्था बुझेर साथ दिनुपर्छ ।
स्वास्थ्य विशेषज्ञ नियाज अहमद भन्छन्, ‘यस्तो समस्याबाट बच्न पुरुषले आफ्नो मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसबेला सामाजिक स्वास्थ्य अर्थात् ५० वर्ष पुगेपछि एक्लै दुःखी भएर नबस्ने, साथीहरुसँग घुलमिल भएर बस्नुपर्छ । यसले मानसिक र शारीरिक स्वास्थ्यलाई राम्रो बनाउन सहयोग गर्छ । साथै खेलमा सहभागी हुने, मन खोलेर कुराकानी गर्ने, हाँस्ने गर्नुपर्छ ।’