कांग्रेसले आज प्रदर्शनी मार्गमा यसरी गर्दैछ सहकारी ठगीविरुद्धको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमार्फत सहकारी ठगीविरुद्ध प्रदर्शनमा उत्रिँदै छ । नेपाली कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरको ब्यानरमा आज दिउँसो १ बजे काठमाडौँको प्रदर्शन मार्गमा खुला सभा गर्न लागेको हो ।

बिज्ञापन

काठमाडौँमा १०, ललितपुरका ३ र भक्तपुरका २ वटा निर्वाचन क्षेत्रबाट कार्यकर्तालाई कांग्रेसले सहकारी ठगीविरुद्ध प्रदर्शनमा सहभागी गराउन लागेको हो । काठमाडौँ १ मा उमेशजंग रायमाझी, २ मा सीता थपलिया ‘उर्मिला’, ३ मा रंगमति शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर, ६ मा गुरु बराल, ७ मा आङ्गेलु शेर्पा, ८ मा अब्दुल सतार, ९ मा डा डिला संग्रौला र १० मा प्रकाश स्नेहीले टोलीको नेतृत्व गर्नेछन् ।

बिज्ञापन

यस्तै ललितपुर १ नम्बर क्षेत्रमा दिलमान पाख्रिन, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशीले कमाण्ड रहेको छ । त्यस्तै, भक्तपुर १ मा हरिशरण नेपाली र २ मा गणेश लामाको नेतृत्व रहेको छ । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट पार्टी र भ्रातृ संस्थामार्फत प्रदर्शनमा सहभागी हुने बताए ।

‘१० वटै निर्वाचन क्षेत्रबाट  प्रदर्शनमार्गमा आएर खुला सभामा सहभागी हुने तयारी छ । विरोध र्‍याली गरेर आउँदा काठमाडौँको ट्राफिक अस्तव्यस्त हुन्छ,’ उनले रातोपाटीसँग भने, ‘यसलाई मध्यनजर गरेर १० वटै निर्वाचन क्षेत्रबाट आउने टोलीले प्रदर्शनी मार्ग आसपासबाट मात्र नागरिकले दुःख नपाउने गरी र्‍याली गर्छन् ।’

बिज्ञापन

यस्तै कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रको टोली काठमाडौँको पुरानो बसपार्कमा सहभागी हुने बताए । ‘ललितपुरका ३ वटै क्षेत्रको टोली पुरानो बसपार्कमा सहभागी हुन्छ । त्यहाँबाट मात्र प्रदर्शनी मार्गसम्म विरोध र्‍याली गर्छौँ,’ उनले भने ।

नागरिकले दुःख नपाउने गरी विरोध प्रदर्शन गर्ने पार्टीको नीति अनुसार ललितपुरबाट पुरानो बसपार्कसम्म गाडीमा मान्छेलाई लगिने श्रेष्ठले बताए । यस्तै भक्तपुर सभापति दुर्लभ थापाले जिल्लाका चार वटा नगरपालिबाट सल्लाघारी र कौशलटारमा जम्मा भएर प्रदर्शनीमार्ग आउने बताए ।

‘निषेधाज्ञ तोड्ने र नारा जुलुस आउने कुरा छैन । सिँधै भृकुटीमण्डपमा सहभागी हुन्छौ,’ उनले रातोपाटीसँग भने, ‘ भक्तपुरबाट र्‍याली जुलुस गर्ने कार्यक्रम छैन ।’ १५–२० वटा गाडीमा भक्तपुरबाट मान्छे ल्याउने तयारी भइरहेको थापाको भनाइ छ । प्रदर्शनमा कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठन, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा अगाडि सारेको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पनि सोही मुद्दामा दबाब सिर्जना गर्न विरोध प्रदर्शनको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु