गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले कुनै अमर्यादित व्यवहार नगरेको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारी ठगी प्रकरणका आरोपितहरूप्रति सरकार गम्भीर रहेको प्रष्ट पारे।
बिज्ञापन
लेखकले भने, “लाखौं गरिब जनताको अर्बौं रुपैयाँ ठगी गर्नेले भीड जम्मा गरेर न्यायको कुरा सिकाउन मिल्दैन। सरकार लामिछानेमाथि कुनै अमर्यादित गतिविधिमा संलग्न भएको छैन।”
बिज्ञापन
उनका अनुसार सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई सरकारले खोजी गरिरहेको छ। उनले मानवअधिकारको नाममा सहकारी ठगी जस्ता गम्भीर अपराध ढाकछोप गर्ने प्रयासलाई कुतर्क भएको भन्दै आलोचना गरे।
लेखकले रास्वपाले राजनीतिक भीड जम्मा गरेर कानुनी प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाए। “ठगीको घटनामा संलग्न जोकोहीलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,” उनले थपे।
बिज्ञापन
सहकारी ठगीका पीडितको पक्षमा सरकार गम्भीरतापूर्वक लागिपरेको भन्दै उनले दोषीलाई कुनै हालतमा उम्कन नदिइने बताएका छन्।