काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् ।
बिज्ञापन
दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो ।
बिज्ञापन
को हुन् दाहाल ?
नेकपा (माओवादी केन्द्रका) केन्द्रीय सदस्य समेत रहेका शर्मा मनोनीत राष्ट्रियसभा सदस्य हुन् । उनले ०७८ चैत २९ गते राष्ट्रियसभा सदस्यका रूपमा शपथग्रहण गरेका हुन् ।
संघीय संसद् सदस्य विवरण, २०८० मा दाहालले उपलब्ध गराएको विवरणानुसार, उनी वि.सं. २०१२ फागुन १२ गते जन्मिएका हुन् । चितवनको भरतपुर महानगरपालिका–१४, भीमसेननगर स्थायी बसोबास भएका उनी ०३२ सालदेखि राजनीतिक दलमा आबद्ध भएको उल्लेख छ । औद्योगिक संकायमा स्नातक गरेका दाहाल ०२७ सालदेखि राजनीतिमा सक्रिय भएको सो विवरणमा लेखिएको छ ।
बिज्ञापन
दाहाल ०३६ सालदेखि पूर्णकालीन राजनीतिमा लागेका थिए । ०५७ सालदेखि हालसम्म पार्टी केन्द्रीय सदस्य भएर दाहालले काम गरिरहेका छन् । उनी ०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । ०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । उनले चार वर्ष लेखा समिति सदस्य भएर काम गरे । दाहालले प्रधानमन्त्री प्रचण्डको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
तर‚ प्रचण्डको भाइ भएकाले उनले राजनीतिक लाभ पाइरहेको आरोप लगाइने गरिन्छ । दाहाल भने प्रचण्डको भाइ भनेको सुन्दा ‘कान पाकिसकेको’ भन्दै आक्रोशित हुन्छन् । प्रचण्डको भाइ भनेर पार्टीको प्रदेश सहइन्चार्जको जिम्मेवारी समेत नदिइएको उनले स्मरण गरे । पार्टीमा आफूले गरेको योगदान छायामा परेको उनी बताउँछन् ।
०३६ सालदेखि पार्टीमा लागेको र युद्ध लडेको भन्दै उनले आफ्नाबारेमा जानकारी नहुनेले प्रचण्डका भाइ भएका कारण जिम्मेवारी पाएको भन्न नमिल्ने बताए । दाजुभाइ नै युद्धमा जान मिल्दैन भनेर त्यति बेला कसैले नरोकेको र अहिले जिम्मेवारी लिन खोज्दा प्रश्न उठाइएको उनको भनाइ छ ।
“दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्यो भने म युद्धमा हिँड्दाखेरि दाइ हिँडेको छ, तँ हिड्नु हुन्न भन्न किन आएनन् ? त्यो बेला एक दिन ढिला भयो भने आफ्नालाई बचाउन भन्ने कुरा आउँथ्यो । यसमा मेरो धेरै भन्नु छैन,” उनले भने । – १२ खरी