मैले फेर्ने सासलाई
तिमीलाई छोएर मनभरि
तृप्ति बोकेर हिँडेको
हावाको एकेक झोक्का चाहिएको छ
तिम्रो कस्तुरी सुगन्ध चाहिएको छ ।
बिज्ञापन
निरस, तमतमाइलो मेरो
जिन्दगीको केही टुक्रालाई
स्वादिलो बनाउन
तिम्रो स्वप्निल आभास
चाहिएको छ
तिम्रो कल्पनातीत स्पर्श चाहिएको छ ।
बिज्ञापन
सुक्दै गइरहेछ
मेरो स्वैरकल्पनाको अथाह सागर
अस्तित्व जोगाउन मलाई
एक अँजुली तिम्रो
परिकल्पना चाहिएको छ
अनिद्राको अपहरणमा
जब पर्छन् मेरा रातहरू
ऐँठनको पन्जाभित्र थुनिन्छन्
जब मेरा सपनाहरू
तबतब फिरौतीका लागि
प्रेमिल भावमा
चुर्लुम्म डुबेका तिम्रो
गीतकविता चाहिएको छ
बिज्ञापन
चैतमासे खडेरीजस्तै
उराठ मेरा यादहरूलाई
चिरस्मरणीय बनाउन
तिम्रो वसन्ती दिन
अनि रात चाहिएको छ
बेतुक, अर्थहीन
मेरा शब्दहरूलाई
कालजयी बनाउन
सुकोमल तिम्रो भाव
चाहिएको छ
युगौँयुगदेखिको दुःसाध्य
मेरो प्रतीक्षालाई
तिमीसँगको अप्रत्याशित, अद्भुत
एउटा प्रेमिल भेट
चाहिएको छ ।
समयको निर्मम आँधीले
लछारिएर ढल्नुअघि
मेरो अस्तित्व
एक निमेषको लागि भए पनि
यी आँखालाई तिम्रो झल्को
चाहिएको छ ।
कहिलेकाँही सबै ठिक
भएर पनि हुँदैनन्
कहीँ, कतै, केही
जबजब यस्तो सोचले गाँज्छ
एक्लोपनले कोपरेर सास फेर्न मुस्किल बनाउँछ
बेपरवाहीले चिथोर्छ
लाचारीले जिस्काउँछ
तबतब
मोक्षदाको स्वरूपमा
मलाई तिमी चाहिएको छ ।