काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले मोरङको रतुवामाई नगरपालिका–९ स्थित आफूले अध्ययन गरेको विद्यालयलाई करिब पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । श्री जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थीको उच्च शिक्षाका लागि उनले यो घोषणा गरेका हुन् ।
बिज्ञापन
डा. शर्माले आफ्ना मातापिताको स्मृतिमा करिब चार करोड रुपैयाँ लागतमा सुविधासम्पन्न विद्यालय भवन बनाइदिने बताए । शनिबार भवनको शिलान्यास गर्दै उनले १० कोठा रहने उक्त अत्याधुनिक भवनमा कम्प्युटर ल्याब र शौचालयसहित करिब ६ हजार ४ सय वर्गफुट क्षेत्रफल ओगट्ने जानकारी दिए ।
बिज्ञापन
भवन शिलान्याससँगै रतुवामाई नगरपालिकाको शिक्षा ऐनअनुसार कानुनी प्रक्रिया पूरा गरी विद्यालयको नाम परिवर्तन गरेर ‘श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको छ ।
एक करोडको छात्रवृत्ति प्याकेज
भौतिक पूर्वाधार मात्र नभई डा. शर्माले विद्यार्थीको शैक्षिक भविष्यका लागि एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्याकेज पनि घोषणा गरेका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी) अन्तर्गत एमबीबीएस, बीडीएस लगायतका विषयमा पीएचडीसम्म अध्ययन गर्न मिल्ने गरी उक्त छात्रवृत्ति स्थापना गरिएको हो ।
बिज्ञापन
घोषित छात्रवृत्तिमध्ये ५० लाख रुपैयाँ विद्यालयलाई जग्गा दान गर्ने स्वर्गीय नरेन्द्रबहादुर थापाको सम्मानमा स्थापना गरिने उनले बताए । बाँकी ५० लाखमध्ये २५ लाख डा. शर्माका हजुरबुवा स्वर्गीय गुणलाल न्यौपाने र २५ लाख जिजुबुवा गणपति न्यौपानेको नाममा रहनेछ ।
यो सुविधा लिनका लागि विद्यार्थीले सोही विद्यालयमा न्यूनतम ५ वर्ष अध्ययन गरी एसईई उत्तीर्ण गरेको हुनुपर्ने र आर्थिक अवस्था कमजोर भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै डा. शर्माले आफू हुर्किएको र पढेको विद्यालयमा लगानी गर्न पाउनुलाई ‘विद्यालयप्रतिको ऋण तिर्ने प्रयास’ का रूपमा अर्थ्याए । उनले भने, ‘भवन निर्माणमा ४ करोडसम्म खर्च हुनसक्छ, त्यो बाहेक १ करोडको छात्रवृत्ति कोष खडा गरेका छौँ ।’
कार्यक्रममा रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंह र कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. शर्माको यो निःस्वार्थ सहयोगले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको मुहार फेर्न र विद्यार्थीको भविष्य उज्यालो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
















