फलाना दाइको खास मान्छे होइन — विचारको सिपाही बन्ने बेला आएको छ

मोहन ओली
जिल्ला सदस्य, नेपाली कांग्रेस, सल्यान

बिज्ञापन

नेपाली कांग्रेस आज गहिरो आत्मसंकटको मोडमा उभिएको छ। पार्टीको शक्ति विचार र सिद्धान्तमा होइन, “फलाना दाइको खास मान्छे” बन्ने प्रवृत्तिमा सीमित हुँदै गएको छ। यही रोगले पार्टीको आत्मा कमजोर बनाउँदै लगेको छ।
आज जहाँ गए पनि सुनिन्छ —
“म देउवा दाइको मान्छे हुँ”, “थापा दाइसँग नजिक छु”, “कोइराला परिवारको मान्छे हुँ”, “शर्मा दाइ, महत दाइ, निधि दाइ वा राना भाउजुसँग सिधा सम्बन्ध छ।”
तर प्रश्न उठ्छ —
के कांग्रेसको राजनीति यति नै हो?
के यो पार्टी विचार, सिद्धान्त र जनताको भावनामा आधारित आन्दोलन होइन?
कांग्रेसको इतिहास हेर्ने हो भने, यसको शक्ति नेताको नाममा होइन, कार्यकर्ताको समर्पणमा रहेको छ।
तर पछिल्लो समयमा नेताको वरिपरि चाकरीबाजहरूको घेरा बनेको छ, जसले पार्टीलाई भित्रैदेखि खोक्रो बनाइरहेको छ।
नेताहरूको मुख हेर्ने, सिफारिस खोज्ने, टिकटको खेलमा लाग्ने संस्कृतिले विचारको राजनीति मार्दै लगेको छ।
नेपाली कांग्रेस कुनै व्यक्तिको सम्पत्ति होइन।
यो लोकतन्त्र, समानता र स्वतन्त्रताको विचारमा जन्मेको पार्टी हो।
तर अहिले यो विचारभन्दा बढी व्यक्तिको अनुहारमा सिमित हुन थालेको छ।
यदि हामीले कांग्रेसलाई फेरि जनताको पार्टी बनाउन चाहन्छौं भने अब दाइहरूको चाकरी होइन, विचारको सेवा गर्नुपर्छ।
हामीले सोध्नैपर्ने प्रश्न के हो भने —
हामी अझै पनि “फलाना दाइको खास मान्छे” बन्ने हो कि नेपाली कांग्रेस र नेपाली जनताको हितका लागि साँचो कार्यकर्ता बन्ने हो?
अब चाकरी होइन, चरित्र चाहिएको छ।
फोटो होइन, इमान चाहिएको छ।
व्यक्तिको होइन, विचारको राजनीति चाहिएको छ।
देश र पार्टी दुबैलाई बलियो बनाउनका लागि अब विचारका सिपाहीहरू उठ्नैपर्छ।
व्यक्तिको मुख हेर्ने होइन, जनताको आँखाबाट देश हेर्ने आँट गर्नुपर्छ।
अब कांग्रेसमा “आफ्नो दाइ” होइन, “आफ्नो देश” खोज्ने समय हो।
कांग्रेसको पुनर्जागरण व्यक्तिको नातामा होइन, विचार र सिद्धान्तमा निर्भर छ।
हामी सबैले अब यो स्वीकार गर्नैपर्छ — व्यक्तिको राजनीति कांग्रेसको विनाशको बाटो हो।
अब समय आएको छ “फलाना दाइको खास मान्छे” बन्ने होइन,
“नेपाली कांग्रेस र नेपाली जनताको सच्चा मान्छे” बन्ने।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु