सरकारी कर्मचारीहरूको सरुवा/पदस्थापनमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। जथाभाबी सरुवा हुने गरेको र कतिपय कर्मचारीहरू जिम्मेवारीविहीन रहेको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो।
बिज्ञापन
प्रधानमन्त्री कार्यालयले दरबन्दी बिना कुनै पनि कर्मचारीको सरुवा/पदस्थापन नगर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री कार्यालयले आइतबार मातहतका मन्त्रालयमा परिपत्र जारी गर्दै स्थानीय तह, प्रदेश र संघमा पनि उक्त निर्देशन पालना गर्न भनेको स्रोतको दाबी छ।
बिज्ञापन
त्यस्तै विभिन्न मन्त्रालय तथा निकायमा कर्मचारीहरू जिम्मेवारीविहीन रहेकोप्रति पनि प्रधानमन्त्री कार्यालयले गम्भीर चासो लिएको स्रोतले जनाएको छ। ‘कतिपय मन्त्रालय र मातहत कार्यालयहरूमा दरबन्दीभन्दा बढी संख्यामा कर्मचारीहरू रहेको, कतिपय कर्मचारीलाई समयमै पदस्थापन नगरी जिम्मेवारीविहीन अवस्थामा राखेको, स्वीकृत दरबन्दी बमोजिम कर्मचारीहरूको पदस्थापन नगरी त्योभन्दा तल्लो पद र श्रेणीका कर्मचारीहरूलाई जिम्मेवारी दिएको सूचना प्रधानमन्त्री कार्यालय पुगेपछि यस्तो निर्देशन आएको हो,’ स्रोतले अन्नपूर्णसँग भन्यो।
सोही गुनासोपछि प्रधानमन्त्री कार्यालयले जिम्मेवारीविहीन रहेका कर्मचारीलाई ३ दिनभित्र जिम्मेवारी तोक्न, बिना कारण समय अगावै वा दोहोर्याएर एकै ठाउँमा सरुवा/पदस्थापन नगर्न पनि निर्देशन दिएको छ।
बिज्ञापन
त्यस्तै बजेट निर्माणको समय भएकाले प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई बजेट निर्माणको चरण सम्पन्न नभएसम्म अन्यत्र सरुवा नगर्न पनि निर्देशन दिइएको स्रोतले जनाएको छ।