एजेन्सी | वैशाख २४ – भारतले पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गर्दै नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती स्थानहरूबाट भारतमाथि आतंकी आक्रमणका योजना तथा निर्देशनहरू भइरहेको प्रमाणित भएपछि कारबाही गरिएको हो।
बिज्ञापन
यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणपछि आएको हो, जसमा २६ जना पर्यटकको ज्यान गएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै कडा जवाफ दिने चेतावनी दिएको थियो।
बिज्ञापन
पाकिस्तानले भने भारतीय हवाई कारबाहीको जवाफ दिने तयारी भइरहेको जनाएको छ। आणविक हतियारधारी दुई छिमेकी देशहरूबीचको पछिल्लो तनावले दक्षिण एशियामा पुनः अस्थिरता बढाएको छ।
भारत–पाकिस्तानबीचका प्रमुख सैन्य द्वन्द्वहरू
१९४७: बेलायतले उपमहाद्वीप छाडेपछि भारत र पाकिस्तानको जन्म भयो। कश्मीरको स्वामित्वलाई लिएर दुई देशबीच पहिलो युद्ध भयो। अहिले पनि जम्मू कश्मीरको केही भूभाग पाकिस्तानको नियन्त्रणमा छ।
बिज्ञापन
१९६५: कश्मीर नियन्त्रणका लागि दोस्रो युद्ध भयो। पाकिस्तानी सेनाको घुसपैठपछि भारतले जवाफी कारबाही गर्दै ठूलो स्तरमा स्थल तथा हवाई युद्ध गर्यो।
१९७१: पूर्वी पाकिस्तानको स्वतन्त्रता संघर्षमा भारतले हस्तक्षेप गरेपछि तेस्रो युद्ध भयो। यस युद्धपछि बंगलादेशको स्थापना भयो।
१९९९: कारगिल युद्धले आणविक क्षमता प्राप्त गरिसकेका भारत र पाकिस्तानलाई आमनेसामने ल्यायो। पाकिस्तानको कब्जा प्रयासलाई विफल पार्दै भारतले ‘अपरेशन विजय’ सञ्चालन गर्यो।
२०१६: उरीस्थित भारतीय सैन्य शिविरमा भएको आक्रमणपछि भारतले पाकिस्तान नियन्त्रित क्षेत्रमा ‘सर्जिकल स्ट्राइक’ गर्यो।
२०१९: पुलवामा आक्रमणमा ४० जना सुरक्षाकर्मीको ज्यान गएपछि भारतले बालाकोटस्थित आतंकवादी शिविरमा हवाई आक्रमण गर्यो।
अब भारतको ‘अपरेशन सिन्दूर’ ले फेरि दुई देशबीचको द्वन्द्वलाई उत्कर्षमा पुर्याएको छ। तनाव कायमै रहेका कारण दक्षिण एशियामा शान्ति र स्थायित्वका लागि गम्भीर चुनौती खडा भएको छ।