ओडिसामा नेपाली छात्राको मृत्युको छानबिनका लागि पराष्ट्रमन्त्रीको पहल

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ । मन्त्री राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिनुभएको हो ।

बिज्ञापन

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’

बिज्ञापन

घटनाले मर्माहत बनाएको भन्दै परराष्ट्रमन्त्री राणाले प्रिसाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । उहाँले दुखको घडीमा प्रिसाको परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

उहाँले अगाडि लेख्नुभएको छ–‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ । प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

बिज्ञापन

उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

गत ४ फागुनमा पनि उक्त विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् । लम्साल मृत भेटिएको छात्रावासमै साह बस्दै आएकी थिइन् ।

ओडिसा सरकारले विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्राको विषयमा अनुसन्धान सुरु भएको जनाएको छ । घटनास्थल विश्वविद्यालयको छात्रावासमा प्रमाण संकलनका लागि प्रहरीको टोली गएको जानकारी गराउँदै ओडिसा सरकारले घटनाप्रति दु:ख व्यक्त गरेको छ । प्रेम विज्ञप्तिमा घटनाबारे तत्काल परिवारलाई जनकारी गराइएको उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु