नयाँ वर्षको अवसरमा चारतारेमा आठौँ चौँरी महोत्सव आयोजना

नयाँ वर्ष २०८२ को अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव आयोजना गरिँदैछ। पर्यटन प्रवर्द्धन तथा लोपोन्मुख चौँरी संरक्षणका लागि महोत्सव आयोजना गर्न लागिएको हो।

बिज्ञापन

फालेलुङ गाउँपालिकाले फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब, तथा कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थाको सहकार्यमा महोत्सवको आयोजना गर्न लागेको जनाएको छ। स्थानीय व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता संस्थाहरूको समेत संलग्नता रहेको छ।

बिज्ञापन

महोत्सवमा ६०० भन्दा बढी चौँरी प्रदर्शन गरिनुका साथै चौँरीजन्य सामग्री, स्थानीय घरेलु उत्पादन, तथा हिमाली संस्कृति झल्काउने विभिन्न प्रदर्शनीहरू राखिनेछ। गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगूका अनुसार चौँरी संरक्षणमार्फत पर्यटन प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा नेपाल–भारत सीमा क्षेत्रमा पर्यटन विस्तार गर्ने लक्ष्य महोत्सवले लिएको छ।

फालोट क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्दै पर्यटक आकर्षण बढाउने उद्देश्य महोत्सवले राखेको छ। उच्च पहाडी क्षेत्रमा पर्यापर्यटनको सन्तुलन कायम राख्दै स्थानीय चौँरीपालक किसानहरूको आम्दानी वृद्धि गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले बताएका छन्।

बिज्ञापन

समुद्री सतहबाट ३,५०० मिटर उचाइमा रहेको नेपाल–भारत सीमा क्षेत्रको चाररातेमा महोत्सव आयोजना हुनेछ। चैत ३१ गते सुरु भई वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सव २०७४ सालदेखि निरन्तर रूपमा हुँदै आएको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय कांकरभिट्टा, लगायतका संस्थाहरू प्रवर्द्धकका रूपमा रहेको यस महोत्सवमा नेपाल, भारत, र भूटानका पर्यटकहरूको सहभागिता रहनेछ।

महोत्सवका प्रमुख आकर्षणहरूमा उत्कृष्ट चौँरीपालक कृषक सम्मान, चौँरीपालकहरूबीच मैत्रीपूर्ण फुटबल खेल, तथा चौँरी नृत्य समावेश छन्।

फालेलुङको चौँरीपालन क्षेत्रमा दुर्लभ वन्यजन्तु रातो हाब्रे पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ। नेपाल–भारत सीमा क्षेत्रमा आयोजना हुने यस महोत्सवमा दुवै देशबाट चौँरी प्रदर्शनका लागि ल्याइनेछ भने पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

सीमावर्ती फालोट क्षेत्रमा वार्षिक करिब ३ लाख पर्यटकले भ्रमण गर्ने अनुमान गरिएको छ। नियमित महोत्सव आयोजना तथा पर्यटन पूर्वाधार निर्माणले पर्यटक आगमन वृद्धि भई नेपाली पर्यटन क्षेत्र लाभान्वित भएको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरतकुमार खपाङ्गीले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु